हावाहुरीले सप्तरी प्रिमियर लिगमा लाखौंको क्षति , जिल्लाका विभिन्न स्थानमा विद्युत अवरुद्ध

२१ जेठ २०८१, सोमबार
राजविराज । सोमवार दिउँसो आएको हावाहुरीले जिल्ला सदरमुकाम राजविराज सहित जिल्लाका अन्य स्थानमा लाखौंको क्षति पुर्याएको छ ।
राजविराजमा सञ्चालित सप्तरी प्रिमियर लिग टिट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा हावाहुरीका २५ लाख भन्दा बढीको क्षति भएको छ । खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमूल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रिन बोर्ड, प्रचार प्रसार लगायतका सामाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षति भएको आयोजकले जनाएका छन ।
त्यसैगरी गजेन्द्र चौक बाट नेता चौक जाने बिच मेन रोड अवरुद्ध २ वटा रूख ढल्दा आवागमन प्रभावित भएको थियो भने जिल्ला विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, रूख र विद्युतीय पोल ढल्दा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुत नाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
यसैगरी रुपनी गाउँपालिका वडा नं १ रुपनी टोल नजिकै रहेको अलि हुसेनको घरको छतमा सिमलको रूख भाँचिएर खस्दा ४ वटा कोठा मा क्षति पुगेको छ भने घरको बिम र वालहरूमा चर्केको छ ।
यस्तै जिल्लाका पश्चिमी पालिकाहरूमा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ ।
प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।