कञ्चनरूप । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो चौथो पार्टी पुनर्गठन दिवस सप्तरीको शम्भुनाथ नगरपालिका–४ स्थित ऐतिहासिक शम्भुनाथ मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका मधेश प्रदेश संसदीय दलका नेता माननीय गोविन्द न्यौपाने, पार्टी केन्द्रीय सदस्य अनार चौधरी, स्थानीय अग्रज नेताहरू तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेता न्यौपानेले कार्यक्रममा सम्बोधन गर्दै पुनर्गठन दिवसलाई संगठन सुदृढीकरण र जनताप्रतिको समर्पणको प्रतीकका रूपमा व्याख्या गरे। उन भने, “समाजवादतर्फको यात्रामा यो पुनर्गठन दिवस हाम्रो दृढ संकल्प र जनतासँगको नवीकरण गरिएको प्रतिज्ञा हो। हामीले संगठनलाई अझ बलियो बनाउँदै आम नागरिकको जीवनयापनमा सुधार ल्याउने लक्ष्य बोकेका छौँ।”
त्यस्तै, पार्टी केन्द्रीय सदस्य अनार चौधरीले पार्टी एकता र जनअधिकारका मुद्दामा एकीकृत समाजवादीले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरीन । उनले जोड दिइन, “स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि हाम्रो पार्टी सदैव अग्रपंक्तिमा रहन्छ। पुनर्गठन दिवसले हामीलाई नयाँ उर्जा र जिम्मेवारीको अनुभूति गराएको छ।”
स्थानीय अगुवा कार्यकर्ताहरूले पनि पुनर्गठन दिवसलाई ऐतिहासिक अवसरका रूपमा लिँदै समाजवाद, समानता र जनकल्याणको आन्दोलनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले पार्टी संगठन सुदृढीकरण, स्थानीय राजनीतिक गतिविधि, जनसमस्यामा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे व्यापक छलफल गरेको आयोजकले जनाएको छ। सहभागीहरूले यस दिनलाई पार्टीको मात्र नभई सम्पूर्ण जनताका लागि पनि परिवर्तनको बाटोप्रति विश्वास जागृत गर्ने दिनको रूपमा लिएका थिए।