
२४ मंसिर काठमाडौँ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।
कांग्रेसले महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरेको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने जनाएको छ ।
महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसेकाछन भने उद्घाटन सत्र दुई घन्टा चल्ने छ ।
उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ र सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछ । त्यस्तै २९ मतपत्र रहनेछ । कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछ ।
यस्तो छ निर्वाचन कार्यतालिका
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय पर्सी बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ स् १५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ । खवर हब र दृष्टिको सहयोगमा