
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ५१ मात्र पनि बाँकी छ । निर्वाचनमा आफू कसरी सुरक्षित हुने भन्नेमै केन्द्रित भएर दलबदल गरिरहेको देखिन्छ । चुनावको तयारीमा दलहरू ,दलका नेता कार्यकर्ता चुनावी प्रचारका लागि विपक्षी पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेशको अभियान चलाएका छन् । यसअघि जुन पार्टीबाट निर्वाचन जितेको हो उक्त पार्टीले पुनः टिकट दिने नदेखेपछि कतिपयले दल परिवर्तन गरिरहेका छन् । पार्टी फेर्नेमा धेरैजसो निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ ।आफ्नो पार्टीले टिकट नदिने वा दिएपछि फेरि जित्ने सम्भावना कमजोर देखेका कारण जनप्रतिनिधिहरूले अर्को दलमा जान थालेका हुन् । पछिल्लो समयमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पार्टी परिवर्तन गरेका छन् । एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने मधेश प्रदेशमा बढी देखिएको छ । पार्टी प्रवेश गराउने होडबाजीमा एमालेदेखि, कांग्रेस ,माओवादी र राप्रपासम्मको छन् । अन्य असन्तुष्टलाई आफ्नो पार्टीमा तान्ने कसरत सबैजसो दलले गरिरहेका छन् ।
