Logo

कञ्चनरूपलाई युवामैत्री स्थानीय शासन अवलम्बन गर्न ७ बुँदे घोषणापत्र जारी

                     
Logo २४ श्रावण २०७९, मंगलवार १५:१९    

२४ साउन , कञ्चनरूप ।

युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने उद्देश्य सहित देशभरीका ७ वटा नगरपालिका मध्येको एक सप्तरीको कञ्चनरूप नगरपालिकामा साउन २२ गतेदेखि सुरु भएको युवा तथा किशोर (किशोरी)  मैत्री   स्थानीय शासन सम्बन्धी ३ दिने तालिम ७ बुँदे घोषणापत्र बुझाउदै आज सम्पन्न भएको छ ।

तालिममा सहभागि हरेक क्षेत्रका युवाहरूको छलफलबाट तयार गरिएको ७ बुँदे घोषणापत्र कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ता तथा उप प्रमुख मुना पोखरेललाई लाई बुझाउदै तालिम सम्पन्न भएको हो । युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै कञ्चनरूप नगरपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रूप दिन साझेदारी भइरहेको छ ।

कार्यक्रमको समापन सत्रमा बोल्दै नगर प्रमुख गुप्ताले युवाहरूको समग्र विकास तथा युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए भने कार्यक्रममा बोल्दै युवा देशको मूल शक्ति भएकाले हरेक कार्यक्रममा युवा परिचालन अनिवार्य रहेको बताए । युवाको क्षमता विकासका लागि यस तालिमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

कञ्चनरूप नगरपालिकामा युवामैत्री स्थानीय शासनको अवलम्बन, कार्यान्वयन, घोषणा र दिगोपनामा योगदान दिनका लागि पालिकाका सरोकारवालाहरूबाट युवामैत्री स्थानीय शासन सहयोग समितिको निर्माण गरी स्वयंसेवी रुपमा युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागी योगदान गर्ने आधार निर्माण गरिएको छ ।

युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सबालहरू शासन प्रणालीमा जोड्दै, उनीहरूको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा सञ्चालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन बनाउनका लागि कार्यक्रम शुरु गरिएको कञ्चनरूप  नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक कैलास कुमार साहले बताए । उनले कञ्चनरूप नगरपालिकाले युवामैत्री स्थानीय शासनका रुपमा आफूलाई स्थापित गर्ने गरि काम थाल्ने बताए ।

उद्घाटन र समापन कार्यक्रममा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, उप प्रमुख मुना पोखरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकान्त चौधरी  लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने तालिममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्ग, किशोरी, युवा उद्यमी, कृषक, निजी क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पूर्व सदस्य, सञ्चारकर्मी युवा, अधिकारकर्मी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समुहका नागरिकहरूलाई युवाको परिभाषामा समेटेको छ । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाहरूको सकारात्मक र रचनात्मक योगदान रहेको छ, रहन्छ र रहनु पर्दछ भन्ने विषयलाई आत्मसात गर्दै बालमैत्री, लैङ्गिकमैत्री, पोषण मैत्री, वातावरणमैत्री अधिकारसँगसँगै युवामैत्री अभियानको कार्यान्वयन गरिएको छ ।

क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरण अभियानकर्मी विष्णु खत्री, रमाकान्त शर्मा, समीक्षा खड्काले गरे थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?