
अम्बिका दहाल ।राजविराज । सप्तरीका पत्रकार तथा कान्तिपुरकर्मी अवधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माग राखी नेपाल पत्रकार महासंघ सप्तरीले प्रहरीमा उजुरी दिएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य अवधेश झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक सञ्जालमा खुलेयाम ज्यान मार्ने धम्की तथा झाको तस्वीरमा कोरेर पछि महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएका पत्रकारको टोलीले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कडा कारबाहीको माग गरी महासङ्घको उजुरी पत्र बुझाएको हो।
सप्तरीबाट विगत लामो समय देखी कान्तिपुरमा समाचार संकलन र सम्प्रेषण गर्दै आएको पत्रकार झाले १७ मङ्सिरको कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ । उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, महासंघ सप्तरीले प्रहरीमा बुझाएको उजुरीमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत यसै निवेदनसाथ संलग्न छ ।
समाचार लेखेको विषयमा सम्बन्धित पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो. सजादको सामाजिक सञ्जालमा पत्रकार झामाथि ज्यान मार्ने धम्की सम्म दिएको हुँदा उनीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै यो निवेदन दिएका छौं महासङ्घले दिएको उजुरीमा उल्लेख छ ।