
कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको यातुवाहक बसबाट बुधबार बिहान करिब ३९ के. जी. गाँजा प्रहरीले बरामद गरेको छ ।




इलाका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरूप को वडा नं. ११ मा विराटनगर बाट नारायणघाट तर्फ जाँदै गरेको ना. ५ ख १५६१ नम्बरको यात्रुवाहक बसमा बेवारिसे अवस्थामा बुधबार ३९ किलो लागूऔषध (गाँजा) फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवका अनुसार उक्त बसमा नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रङ्गको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडी बेपत्ता भएपछि लगेज माथि शंका लागेर बस चालकले प्रहरीलाई खवर गरेका थिए । उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा करिब ४ पोका गाँजा फेला परेको डीएसपी यादवले जानकारी दिए । उक्त गाँजा करिब ३९ के। जी को रहेको उनले बताए । फेला परेको गाँजा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको तथा सो बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
