Logo

२९औं लोकेन्द्र बुढाथोकी स्मृति पुरस्कार यादवलाई / वातावरण पत्रकारिता साहलाई प्रदान

                     
Logo २७ पुष २०७९, बुधबार १३:२७    

अम्बिका दहाल । राजविराज ।२९औं लोकेन्द्र कुमार स्मृति दिवसको अवसरमा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार विन्दु कुमार यादवलाई यसवर्ष लोकेन्द्र स्मृति पत्रकारिता  प्रदान गरिको छ भने सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश कुमार साहलाई सम्मानित गरिएको छ ।

पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व प्रभात दैनिकका सम्पादक यादवलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका १ निवासी पत्रकार यादव पूर्व प्रभात दैनिकको सम्पादक रहि करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन्  ।

यसैगरी उक्त स्मृति दिवसमा  आजको वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश कुमार साहलाई सम्मानित गरिएको छ । सप्तरीको वोदेवरसाईन नगरपालिका वडा नम्वर –९, देउरी निवासी साह सप्तरीलाई कार्यक्षेत्र बनाएर मधेश टप अनलाइन र पब्लिक प्रेसको सह– सम्पादकको रूपमा रहेर कार्यरत छन् ।

प्रत्येक वर्ष प्रदान गरिंदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक/सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि बस्नेत र प्रजिअ भुपेन्द्र थापाले प्रदान गरेका छन् । उक्त पुरस्कार प्रत्येक वर्ष पुस २७ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।

महासंघ शाखाका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव गोविन्द चौलागाईं, प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहाल, महासङ्घका पूर्व केन्द्रिय सदस्य अवधेश कुमार झा, पूर्व अध्यक्षहरू विष्णु कुमार मण्डल, बैद्यनाथ झा, मुरली प्रसाद यादव, जितेन्द्र खडगा, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।

महासङ्घका सचिव राम नारायण विश्वासद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जीवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुपिन्द्र भुसाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले लगायतका बिभिन्न सञ्चार माध्यमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

लोकेन्द्र कुमार बुढाथोकी को थिए त?

सल्यान जिल्लाको तत्कालीन कोटमौला गाविसका धनि वहादुर बुढाथोकीका माहिला छोराको रुपमा जन्म लिई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको २०५० सालमा हत्या भएको थियो । उनकै स्मृतिमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज साप्ताहिकका सहसम्पादक थिए ।

राजविराजस्थित समाज कल्याण केन्द्र (बाल कल्याण गृह)मा बसि एसएलसीको पढाई पूरा गरेका बुढाथोकीको मविव क्याम्पस राजविराजमा विएल दोश्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।

प्रत्येक बर्ष पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले लोकेन्द्र स्मृति मनाउदै आएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?