Logo

कोरोना जोखिम कम भएका क्षेत्रमा शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो ।

Kanchan 24 ३ मंसिर २०७७, बुधबार ११:५२ मा प्रकाशित

कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्नका लागि मन्त्रालयले बाटो खोलेको हो ।

कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय होम सेन्टरका रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ ।

परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशङ्का पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार