Logo

युरोकपमा आज मध्यराति १२:४५ बजे बेल्जियम र पोर्चुगलबीचको खेल

Kanchan 24 १३ असार २०७८, आईतवार २०:४९ मा प्रकाशित

काठमाडौं, १३ असार ।
युरोकपमा नकआउट चरणको दोस्रो दिन आज (आइतबार) नेपाली समय अनुसार राति १२ः४५ बजे मध्यराति बेल्जियम र पोर्चुगलबीचको खेल शुरु हुनेछ ।
सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि रक्षाका लागि मैदान उत्रिंदै छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिंदै छ ।
यता बेल्जियम भने अपराजित हुँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको हो । यता पोर्चुगलले एक खेलमा जित निकालेको थियो भने एक खेलमा पराजित भएको थियो र एक खेल बराबरी खेलेको थियो । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । यता स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडीले भरिएको पोर्चुगल उपाधि दाबेदार टिम समेत हो ।
उपाधि दाबेदार टोलीको रूपमा रहेका दुवै टोली आजको खेलमा सहज जीत निकाल्ने योजनामा हुने छन् । साविकको विजेता टोली पोर्चुगल आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा रहेको छ । उ अन्तिम तीनमा रहेको उत्कृष्ट टिमको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो ।
पोर्चुगलको तर्फबाट कप्तान क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेका छन् । रोनाल्डोले लिग चरणको तीन खेलमा पाँच गोल गरेका छन् । यता बेल्जियमको तर्फबाट लुकाकुले तीन गोल गरेका छन् । यस्तोमा पोर्चुगल र बेल्जियमबीचको खेलमा यी दुई स्ट्राइकरमाथि सबैको आँखा पर्नेछ । आजको खेलमा रोनाल्डो र लुकालुलाई विशेष चासोका साथ हेरिएको छ ।
आजको खेलको विजेताले क्वार्टर फाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्ने छ । इटालीले भने राउण्ड अफ १६ को दोस्रो खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

 

#युरोकप

ताजा समाचार
ट्रेंडिंग समाचार