Logo

विराटनगरकाे कोसी आयल सेन्टरले बेचेकाे पेट्रोलमा सराबरी पानी

Kanchan 24 ८ श्रावण २०७८, शुक्रबार २२:२२ मा प्रकाशित

विराटनगर श्रावाण ८ गते
विराटनगर महानगरपालिका– १ का बुद्धचोकका युकेश गुप्ताले बिहीबार आयल निगम अगाडि रहेको कोसी आयल सेन्टरमा आफ्नो गाडीमा पेट्रोल हाले । बिर्तामोड हिँडेका उनले पेट्रोल हालेको एक किलोमिटर नचल्दै प्रदेश ३–०१–००२४ च ९६९८ नम्बरको गाडी बन्द भयो । ग्यारेजबाट मिस्त्री ल्याएर चेक गर्दा ट्याङ्कीमा पानी भेटियो ।
विराटनगर अस्पतालमा कार्यरत डाक्टर रजनीश झाले शुक्रबार दिउँसो कोसी आयल सेन्टरमा तीन हजार आठ सय रुपैयाँको पेट्रोल हाले । फुल ट्याङ्की पेट्रोल हालेर घर फर्कंदा गाडीको स्टार्ट बन्द भयो ।
ग्यारेजमा ल्याएर चेक गर्दा ट्याङ्कीमा तेल र पानी सराबरी भेटियो । ‘गाडीमा पाँच–सात लिटर तेल थियो, फुल ट्याङ्की गरेलगतै स्टार्ट बन्द भयो,’ उनले भने, ‘ग्यारेजमा खोल्दा तेल र पानी सराबरी छ, यो त ठगी भयो ।’
तेल र पानी सराबरी भएको विषय आयल सेन्टरमा गएर जानकारी गराउँदा आफूले शुद्ध पेट्रोल बेच्ने भन्दै फर्काएको उनले बताए । ट्याङ्कीबाट निस्किएको पानी देखाउँदा गाडीभित्रकै पानी भन्दै कर्मचारीले बदमासी स्वीकार नगरेको उनले बताए ।
‘हिजो मलाई पनि पेट्रोलमा पानी मिसाएको छैन भने,’ युकेश भन्छन्, ‘गाडी झन्डै सिज भयो ।’ पेट्रोल पम्पको बदमासीका कारण आफूले दुस्ख पाएको उनले बताए ।


नेपाल आयल निगम प्रादेशिक डिपोअगाडि रहेको कोसी आयल सेन्टरका सञ्चालक ललित अग्रवाल हुन् । अग्रवाल आफूले शुद्ध पेट्रोल मात्रै बेचेको बताउँछन् । पेट्रोलमा पानी मिसिएको गुनासो आएको स्वीकार गर्दै उनले आफूहरूले शुद्ध पेट्रोल बिक्री गरेको बताए ।
‘हामीले चेक गर्दा शुद्ध पेट्रोल आँउछ,’ उनले भने, ‘दैनिक सयौँले तेल भर्छन्, पानी मिसावट हुने भए २५ प्रतिशतले कम्प्लेन गर्थे होला ।’ आफूले शुद्ध पेट्रोल बिक्री गरेको बताउँदै उनले सरकारले छानबिन गर्न सक्ने बताए ।
पेट्रोलमा ठगी गरेको गुनासो आएपछि छानबिन गर्न निर्देशन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘पेट्रोल पम्पबाट पानी मिसाएको पेट्रोल बिक्री भएको विषय मलाई पनि जानकारीमा आयो,’ उनले भने, ‘तत्काल छानबिन गर्न निर्देशन दिएको छु ।ु
पानी मिसावट भएको गुनासो आएपछि अध्ययनका लागि टोली पठाएको गुणस्तर तथा नापतोल कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झाले बताए । जिल्ला प्रहरी कार्यालयले पनि छानबिनका लागि टोली खटाएको जनाएको छ ।


ट्रेंडिंग समाचार