Logo

वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा

Kanchan 24 १३ आश्विन २०७८, बुधबार १८:२९ मा प्रकाशित

उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
मृत्यु भइसकेका व्यक्तिको नाममा सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूले १६ लाख ४० हजार ५ सय हिनामिना गरेको अख्तियारको दाबी छ । उनीहरूले साविक ठोक्सिला गाविसमा ८÷१० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ बिगो सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ को उपदफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।
तत्कालीन गाविस सचिव आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, सुन्दास तथ्यांक कार्यालय उदयपुरमा र खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत छन् भने सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् । दृष्टिबाट


ताजा समाचार
ट्रेंडिंग समाचार