पृष्ठभूमि
नेपालको
विद्यालय शिक्षा प्रणालीमा पछिल्ला केही दशकमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्
। हाम्रो विद्यालय शिक्षाको मुख्य उद्देश्य देशका सबै बालबालिकालाई गुणस्तरीय
शिक्षा दिनु हो । अनेक योजना, कार्यक्रम, थुप्रै लगानी लगायतका प्रयास गरिएका भए
पनि विद्यालय भर्ना, विद्यार्थीहरूले बीचैमा
विद्यालय छाड्ने दर र शिक्षाको गुणस्तरमा धेरै चुनौती अझै पनि कायम छन् ।
यो आलेखमा हाम्रो शिक्षा प्रणालीको वर्तमान अवस्थाको विहङ्गम् विश्लेषण गर्ने प्रयाश गरिएको छ । विद्यालयमा बालबालिकाको भर्ना दर, विद्यालयमा पढ्ने विद्यार्थीहरूको लैङ्गिक अनुपात, विद्यालय छाड्ने प्रवृत्ति, सरकारको लगानी र कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थी पढ्ने विद्यालय शिक्षाको गुणस्तर जस्ता पक्षमा यो लेखमा विश्लेषण गरिएको छ ।
१. विद्यालय भर्नाको स्थिति
सार्वजनिक
रूपमा उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा कक्षा १ देखि १२ सम्मको विद्यालय भर्ना संख्यामा, अघिल्लो दशकको
तुलनामा उल्लेख्य वृद्धि भएको छ । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयका अनुसार, विद्यालय शिक्षा
अन्तर्गत कूल भर्ना संख्या लगभग ७५ लाख विद्यार्थी छ । अर्थात् नेपालका सबै
विद्यालयमा गरी जम्मा ७५ लाख विद्यार्थी भर्ना भएका छन् । यो तथ्याङ्कमा सरकारी
स्वामित्वका सार्वजनिक र निजी विद्यालय दुबै प्रकारका विद्यालयहरू समावेश छन् । यी
मध्ये प्राथमिक तहमा (कक्षा १ देखि ५ सम्म) मा भर्ना भएका बालबालिकाहरूको संख्या
माथिल्ला कक्षाहरूमा भन्दा वढी छन् ।
२. विद्यालय भर्नामा लैङ्गिक अनुपात
विद्यालय
भर्नामा लैङ्गिक अनुपातमा असमानता देखिन्छ । तर, पछिल्ला वर्षहरूमा गरिएका विभिन्न
प्रयासको परिणाम स्वरूप छोरा र छोरीको भर्ना अनुपातमा तुलनात्मक रूपमा समानता
आउँदै गएको पाइन्छ । छात्र र छात्राको विद्यालय भर्नाको वर्तमान अनुपात १:०.९७ छ ।
अर्थात्, १०० छात्र विद्यालय
भर्ना भएकोमा ९७ जना छात्रा भर्ना भएका छन् । केही वर्ष अघिको स्थिति सँग तुलना
गर्ने हो भने यो तथ्याङ्क निक्कै उत्साहजनक छ । यही क्रम जारी राख्न सकियो भने यो
स्थितिमा अझै सुधार ल्याउन सकिन्छ । विद्यालयमा पढ्ने विद्यार्थीहरूमा छोरा र छोरी
बराबर हुन्, दुबैको पढाइ गुणस्तरीय होस् भन्ने हाम्रो चाहना भावि दिनमा पूरा हुनेछ
भन्ने आशा गर्न सकिन्छ ।
३. विद्यालय छाड्ने दर र प्रवृत्ति
बालबालिका
विद्यालय भर्ना हुने संख्या वृद्धि हुँदै गए पनि, पढाइ पूरा नगरी बीचैमा विद्यालय छाड्ने दर चाहिँ
हाम्रो विद्यालय शिक्षामा चिन्ताको विषय बनेको छ । प्राथमिक तहमा बीचैमा पढाइ
छाड्ने दर करिब ५ प्रतिशत छ भने माध्यमिक तहमा यो दर १५ प्रतिशत रहेको सरकारी
तथ्याङ्कमा देखिन्छ । बीचैमा पढाइ छाड्ने प्रवृत्ति सम्बन्धी तथ्याङ्कले शहरका
विद्यालयहरूको तुलनामा गाउँमा पढाइ छाड्ने दर वढी भएको देखाउँछ । अझ चिन्ताको विषय
त विद्यालय बीचैमा छाड्ने प्रवृत्ति छोराहरूमा भन्दा छोरीहरूमा वढी छ । माध्यमिक
तहमा यो दर अझ धेरै रहेको तथ्याङ्क युनिसेफको एउटा प्रतिवेदनले देखाउँछ ।
४. विद्यालय छाड्ने कारणहरू
पढाइ
पूरा नगरी बीचैमा विद्यालय छाड्ने प्रवृत्तिका लागि विभिन्न कारण जिम्मेवार
देखिन्छन् :
· आर्थिक समस्या
: गरीब
वर्गका अभिभावकले आफ्ना बच्चाहरूको शिक्षासँग सम्बन्धित खर्चहरू, जस्तै पोशाक, कापी कलम, र यातायात खर्च धान्नै सक्तैनन् ।
· बाल श्रम
: विशेष गरी ग्रामीण
क्षेत्रमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाले समेत काम गर्नु पर्ने
बाध्यता छ । दिनभरी काम गरेर कमाउनु पर्ने हुनाले बालबालिका विद्यालय जान
पाउँदैनन् र उनीहरूको पढाइ बीचैमा रोकिन्छ ।
· बाल विवाह
: हाम्रो सांस्कृतिक
परम्परा र सामाजिक दबावका कारण विशेष गरी छोरीहरूको सानै उमेरमा विवाह गरी दिने
चलन व्याप्त छ । विद्यालय बीचैमा छाड्ने यो पनि एउटा कारण बनेको छ ।
· संरचनाको
कमी : विद्यालयमा सुविधाको अपर्याप्तता
र विद्यालय घरबाट टाढा हुनु बीचैमा पढाइ छाड्नु अर्को कारण देखिएको छ ।
· शिक्षाको
गुणस्तर : शिक्षामा खस्कँदो
गुणस्तर, समय अनुसारको आधुनिक शिक्षण विधिको अभाव, प्रविधिको प्रयोग नहुनु जस्ता
कारणले पनि विद्यार्थीहरूमा पढाइ प्रति चासो कम भएको छ र अन्ततः विद्यालय छाड्ने
प्रवृत्ति बढ्छ ।
५. विद्यालय शिक्षामा सरकारी लगानी
नेपाल
सरकारले विद्यालय शिक्षा क्षेत्रमा लगानी बढाइरहेको छ । माध्यमिक तह सम्मको विद्यालय
शिक्षामा ठूलो लगानी छुट्याइएको छ । सन् २०२३/२४ को आर्थिक वर्षमा, सरकारले शिक्षा क्षेत्रलाई करिब
१८० अर्ब रुपैयाँको वजेट छुट्याएको छ । यो लगानीको उद्देश्य संरचनामा सुधार गर्ने,
छात्रवृत्ति दिने, र शिक्षक तालिम
कार्यक्रमलाई सुदृढ गर्ने हो । यद्यपि, यी लगानीहरूको
प्रभावकारिता अहिले पनि बहसको विषय बनेको छ । कतिपय शिक्षा विद् यति लगानी अपुग
भएको भन्दैछन् ।
६. शिक्षाको गुणस्तर
नेपालका
माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरको हिसाबले सरकारी स्वामित्वका सार्वजनिक
विद्यालय र नाफा कमाउन खोलिएका निजी विद्यालयका बीचमा ठूलो भिन्नता देखिन्छ । निजी
विद्यालयहरूमा सामान्यतया राम्रो भौतिक सुविधा उपलब्ध गराएर अभिभावकलाई आकर्षित
गरिन्छ । सरकारी विद्यालयमा जत्तिको योग्य, तालिम प्राप्त र दक्ष शिक्षक नभए पनि निजी
विद्यालयहरूले परीक्षामा राम्रो परिणाम ल्याउन शिक्षकहरूलाई वढी मेहनत गराउँछन् र
सिक्ने वातावरण अनुकूल बनाउँछन् । तर अधिकांश सार्वजनिक विद्यालयहरू अपर्याप्त
स्रोत, धेरै विद्यार्थी
संख्या, शिक्षकहरूमा जिम्मेवारीबोधको कमी, विद्यालयमा राजनीतिकरण जस्ता समस्याले
ग्रस्त पाइन्छ । यस्तो स्थितिमा निजी विद्यालयले परीक्षामा राम्रो परिणाम
ल्याउँछन् र सार्वजनिक विद्यालयका विद्यार्थी उतीर्ण हुने प्रतिशत जहिले पनि निक्कै
कम हुने गरेको छ ।
७. सरकारी र निजी विद्यालय बीच उतीर्ण प्रतिशतको तुलना
पछिल्ला
पाँच वर्षमा, माध्यमिक शिक्षा
परीक्षामा (SEE) उतीर्ण प्रतिशतमा निजी विद्यालय सरकारी
विद्यालयको तुलनामा धेरै माथि देखिन्छन् । उदाहरणका लागि,
सन् २०२३ मा, निजी विद्यालयहरूको उतीर्ण प्रतिशत करिब ९०
थियो भने सरकारी विद्यालयहरूको ६० प्रतिशत मात्र थियो । यो भिन्नताले सार्वजनिक
शिक्षा क्षेत्रमा धेरै सुधारको खाँचो छ भन्ने देखाउँछ ।
८. सरकारी विद्यालयहरूको खराब गुणस्तरका प्रमुख कारणहरू
सरकारी
विद्यालयहरूमा शिक्षाको गुणस्तर खराब हुनुमा अनेक कारण छन् । ती मध्ये केही
उल्लेख्य कारण निम्न हुन् :
· अपर्याप्त
वजेट : विद्यालय
शिक्षामा सरकारले ठूलो लगानी गरेको भए पनि विद्यार्थी संख्या लगायतका कारण
छुट्याइएको वजेट प्रायः सबै विद्यालयको आवश्यकतालाई पूरा गर्न अपर्याप्त हुन्छ ।
· योग्य
शिक्षकको अभाव : शैक्षिक योग्यता, तालिम, र दक्षताका दृष्टिले सरकारी
विद्यालयमा राम्रा शिक्षक दरबन्दी भए पनि धेरै वर्ष देखि दरबन्दी अनुसार शिक्षक
नभएकाले राजनीतिक र व्यक्तिगत् पहुँचका आधारमा धेरै शिक्षक भर्ना गरिएको छ । यसरी नियुक्त
गरिएका अधिकांश शिक्षकहरूमा योग्यता र दक्षता माथि प्रश्न उठ्ने गरेको छ ।
· अपर्याप्त
संरचना : कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको अभावले सिकाइ प्रभावित भएको छ । विद्यार्थी
संख्याको अनुपातमा कक्षा कोठा छैनन् । अधिकांश विद्यालयमा आभारभूत प्रयोगशाला समेत
छैन । स्रोत सम्पन्न पुस्तकालय अर्को समस्या हो ।
· विद्यार्थी-शिक्षक
अनुपात : भरिभराउ, भीडभाड कक्षामा
विद्यार्थी संख्याका कारण शिक्षकले विद्यार्थीलाई व्यक्तिगत् तहमा ध्यान दिन
नसक्ने स्थिति छ ।
· राजनीतिकरण
: शिक्षक
भर्ना, व्यवस्थापन समितिको गठन, वजेट लगायतमा व्यापक राजनीतिकरण हुनु नेपालको
सार्वजनिक विद्यालय शिक्षा कमजोर हुनु एउटा महत्वपूर्ण र दुखदायी कुरा बनेको छ ।
९. शिक्षाको गुणस्तर सुधार गर्ने उपायहरू
नेपालको सार्वजनिक
विद्यालय शिक्षामा देखिएका यी चुनौतीहरूलाई समाधान गर्न र शिक्षाको गुणस्तर सुधार
गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ :
· वजेट
वृद्धि : सबै विद्यालयहरूका
लागि पर्याप्त र समान वजेट विनियोजन गरिनु पर्छ । विशेष गरी ग्रामीण र पछाडि परेका
क्षेत्रमा आवश्यकताका आधारमा वजेट छुट्ट्याउनु पर्छ ।
· शिक्षक
तालिम : शिक्षकको शीप र ज्ञान बढाउन
शिक्षक तालिम कार्यक्रमहरूमा अझ वढी लगानी गर्नु पर्छ ।
· संरचना
विकास : कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयलाई आवश्यकताका आधारमा थपेर वा स्तर उन्नति गरेर विद्यालय
संरचनामा सुधार गर्नु पर्छ । यसो गर्न सकियो भने सिक्ने वातावरण राम्रो हुन सक्छ ।
· विद्यर्थी-शिक्षक
अनुपात : प्रत्येक विद्यार्थीलाई शिक्षकले ध्यान पुर्याउन सक्ने गरी आवश्यक
संख्यामा शिक्षक नियुक्त गरिनु पर्छ ।
· समुदायको
संलग्नता : विद्यालय व्यवस्थापन र
निर्णय प्रक्रियामा समुदायलाई अझ वढी संलग्न गराउने वातावरण मिलाउनु पर्छ ।
· नीतिगत
स्थिरता : शिक्षा नीतिहरूमा
एकरूपता र स्थिरता हुनु आवश्यक छ । शिक्षामा राजनीतिकरण पूर्ण रूपमा बन्द गरिनु
पर्छ ।
निष्कर्ष :
नेपालले
विद्यालय शिक्षामा विद्यार्थी भर्ना, लैङ्गिक समानता जस्ता पक्षमा उल्लेख्य प्रगति
गरेको छ । तथापि, बीचैमा विद्यालय
छाड्ने दर, सरकारी विद्यालयको शैक्षिक गुणस्तर र अपर्याप्त
संरचना जस्ता चुनौतीहरू अझै कायम छन् । यी समस्याहरू समाधान गर्न विभिन्न क्षेत्र
र पक्षमा महत्वपूर्ण कामहरू गर्नु आवश्यक छ । वजेट वृद्धि, शिक्षक तालिम, संरचना विकास र समुदायको संलग्नता जस्ता कुरामा विशेष ध्यान दिनु पर्ने छ
। यी उपायहरू कार्यान्वयन गरेर नेपालले सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिन
र शैक्षिक लक्ष्य पूरा गर्न सक्छ ।
सन्दर्भ सूची :
2. https://data.worldbank.org/indicator/SE.ENR.PRSC.FM.ZS?locations=NP
5. https://en.wikipedia.org/wiki/Education_in_Nepal
6. https://girlseducationchallenge.org/media/dtehyhji/gec_country_briefing-_nepal_feb-24_v2.pdf
8. https://www.ceicdata.com/en/nepal/education-statistics
9. https://www.collegenp.com/article/education-system-in-nepal/
10. https://www.unesco.org/en/articles/nepal-implements-national-framework-education-2030