उन्मुक्ति पाए बँदेल सिकारीले
१४ भाद्र २०८१, शुक्रबार
कञ्चनरूप । कोशी पलार क्षेत्रमा बँदेल सिकार गरेको अवस्थामा हातहतियार सहित पक्राउ परेका पूर्वडिआइजी, बहालवाला सइसहित १० जनालाई सप्तरी प्रहरीले उन्मुक्ति दिएको छ ।
कोशी पलार क्षेत्रबाट बुधबार राति २ बजे बँदेल मारेरे ट्रयाक्टरमा लोड गरेको अवस्थामा पक्राउ परेका पूर्वडिआइजी ज्ञानविक्रम शाह, सइ सञ्जय न्यौपाने र पूर्वउपसभामुख गङ्गाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहितलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट बुधबार राति प्रहरीले १० जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले को.त ६९ नम्बरको ट्रयाक्टर र त्यसमा रहेको मृत बँदेललाई बेवारिसे अवस्थामा फेला परेको मुचुल्का बनाई सबडिभिजनल वन कार्यालय कञ्चनपुरमा पठाएको थियो । सबडिभिजनल वन कार्यालयका रेन्जर सन्तोष यादवका अनुसार प्रहरीले बेवारिसे अवस्थामा ट्रयाक्टर र त्यसमा लोड रहेको बँदेल फेला परेको पत्रसहित बिहीबार साँझ पठाएको बताए । यो घटनामा पक्राउ गरिएको राइफल र गोली अनुमति प्राप्त हो वा होइन भन्ने प्रहरीले खुलाएको छैन ।
बँदेल बेवारिसे अवस्थामा बरामद भएको भन्दै डिभिजन वनलाई प्रहरीले मुचुल्का बुझाएको थियो ।