-राजु गौतम
लेटाङ । लेटाङ ३ स्थित एडभान्स हेल्थ केयर सेन्टरले लेटाङ ७ समला र फुर्केटारमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै २ वटा विद्यालयलाई विभिन्न सामाग्री प्रदान गरेको छ । लेटाङको दुर्गम पहाडी टोलवस्तीमा पुगेर एडभान्स हेल्थ केयर सेन्टरले स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विद्यालय तथा विद्यार्थीहरुलाई विभिन्न सामाग्री प्रदान गरेको हो ।
बुधबार समला स्थित श्री ज्ञानज्योति आधारभूत विद्यालयमा स्वास्थ्यकर्मी सहित पुगेको एडभान्स हेल्थ केयर सेन्टरको टोलीले सम्पूर्ण विद्यार्थीहरु तथा अभिभावकहरूको रक्त समूह, सुगर, प्रेसर, आँखा र कान परीक्षण गरेको छ । यस्तै विद्यालयलाई डिजिटल फिल्टर, प्राथमिक उपचार बाकस, अत्यावश्यक अन्य औषधिहरु र थर्मोमिटरहरू प्रदान गरिएको छ ।
यस्तै सोही दिन फुर्केटार स्थित श्री सिरिजंंगा आधारभूत विद्यालयमा समेत विद्यार्थी तथा अभिभावकहरूको रक्त समूह, सुगर, प्रेसर, आँखा र कान परीक्षण गरिएको छ । साथै सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै विद्यालयलाई कार्पेट, प्राथमिक उपचार बाकस, अत्यावश्यक अन्य औषधिहरु र थर्मोमिटरहरू प्रदान गरिएको छ ।
दुवै ठाउँमा गरेर ९० जनाको रक्तसमूह जाँच, ३८ जनाको मधुमेह, ३८ जनाको कोलेस्ट्रोल, १ सय ४० जनाको आँखा जाँच र ९० जनाको कान जाँच गरिएको संस्थाका सञ्चालक इश्वर शाक्यले जानकारी दिनुभयो ।
उहाँले लेटाङका सम्पूर्ण नीजि स्वास्थ्य संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत खुलेर सहयोग गरेमा विकट ठाउँका जनतालाई ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले रोगको पहिचान नै नगरी मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताउनुभयो ।