मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


राजधानीमा कविता महोत्सव सम्पन्न, उत्कृष्ट पाँच कवि पुरस्कृत

Kanchan24 314+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौँ । विश्व कविता दिवसका सन्दर्भमा काठमाडौँमा विहीबार राष्ट्रव्यापी कविता प्रतियोगितासहितको कविता महोत्सव सम्पन्न गरिएको छ । जनप्रज्ञा प्रतिष्ठानका रुपमा स्थापित साहित्य सदन नेपालले गत फागुनमा आह्वान गरेको कविता प्रतियोगितामा सहभागी कविहरुमध्ये उत्कृष्ट ५ भित्र परेका कविहरुलाई आजको कार्यक्रममा कविता वाचन गर्न लगाई विजेता घोषणा गरी पुरस्कृत गरिएको छ ।

जसमा तेह्रथुमकी रेजिना आपगाईं प्रथम, बर्दियाकी निरञ्जना चन्द निरु दोस्रो, तथा तनहुँका गोविन्द गोपाल खतिवडा, नुवाकोटका विष्णु प्रसाद आचार्य र सिन्धुपाल्चोककी डाक्टर स्मिता श्रेष्ठ तेस्रो भएका छन् । 

‘भुईँमान्छे’ कविता वाचन गरी प्रथम भएकी तेह्रथुमकी रेजिना आपगाईंले नगद ३० हजार पुरस्कार प्राप्त गरिन् । यसैगरी बर्दियाकी निरञ्जना चन्द ‘निरु’ को कविता ‘जीर्ण कवच’ ले दोस्रो स्थान प्राप्त गरेको छ । चन्दलाई नगद २० हजारसहित पुरस्कृत गरिएको छ । 

यसैगरी तनहुँका कवि गोविन्द गोपाल खतिवडाको कविता ‘माटोको माधुर्य’, नुवाकोटका कवि विष्णुप्रसाद आचार्यको कविता ‘मानवता गान’ र सिन्धुपाल्चोककी कवि डाक्टर स्मिता श्रेष्ठको कविता ‘शल्यकक्षमा देश’ तृतीय भएका छन् । तृतीय हुने कविहरुले जनही १० हजार प्राप्त गरेका छन् । 

विजेता कविहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र विशिष्ट अतिथि पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार राशि र सम्मानपत्र प्रदान गर्नुभयो । 

कविता प्रतियोगितामा देशभरबाट ३ सय ४५ जना कविले सहभागिता जनाएकोमा पहिलो चरणमा उत्कृष्ट ५ जना छनौट गरी दोस्रो चरणमा वाचनपछि विजेता घोषणा गरी पुरस्कृत गरिएको हो । 

प्रतियोगिताका लागि साहित्य सदन नेपालले गत फागुनमा कविता प्रतियोगितामा सहभागीताका लागि आह्वान गरेकोमा देशभरबाट ३ सय ४५ जनाले सहभागिताका लागि कविता पठाएका थिए । प्राप्त भएका कविताहरुलाई कोडिङ गरी मूल्यांकनका निम्ति विज्ञहरुलाई उपलब्ध गराइएको सदनका सचिव प्रह्लाद पोख्रेलले जानकारी दिनुभयो । मूल्यांकनकर्ता विज्ञहरुमा प्रा. डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठी रहनु भएको थियो ।  

यसैगरी कविता महोत्सवमा २२ जना सुप्रसिद्ध अतिथि कविहरुले कविता वाचन गरेका छन् । कविहरु गौरी देवकोटा, धीरेन्द्र प्रेमर्षि, प्रा. डा. देवी नेपाल, जगदीशचन्द्र भण्डारी, सविता बराल, मातृका पोखरेल, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, शान्ति शर्मा, भुवनहरि सिग्देल, हीरामणि दुःखी, गोविन्द घिमिरे वेदमणि, दिव्यलक्ष्मी पोखरेल, लक्ष्मण गाम्नागे, अभय श्रेष्ठ, डा. अमर गिरी, भैरवी भूगोल, बाजुराम पौडेल, सुदेश सत्याल, अर्जुन पराजुली लगायतले कविता वाचन गर्नुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइलाले युनेस्कोले कवितालाई ठूलो मर्यादा दिएर विश्व कविता दिवस मनाउन थालेको बताउनुभयो । उहाँले विजेताहरुलाई बधाई दिँदै कविताको मर्यादा कायम राखेर भविष्यमा मानवतालाई सघाउने किसिमले कविता लेख्न आग्रह गर्नुभयो । 

यस्तै विशेष अतिथि गङ्गाप्रसाद उप्रेतीले कविले उच्च आदर्शमय सपना देखाएर जीवनलाई सार्थक गतिमा हिंडाउन पूर्वाधार तयार गरिदिने बताउनुभयो । उहाँले आजको दिन कविता पाठ गर्ने मात्रै नभएर विमर्शसमेत गर्ने दिन भएकाले त्यो जिम्मेवारी लिएर साहित्य सदनले महोत्सव आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । 

यस्तै साहित्य सदन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले समापन मन्तव्य राख्दै विश्व कविता दिवसको दिन हरेक वर्ष कविता प्रतियोगितासहितको महोत्सव सञ्चालन गर्ने निर्णय भएअनुशार कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले यस किसिमको महोत्सवले कवि र कविताको सम्मान हुनुका साथै कविता प्रतियोगिताले युवा कविहरुलाई उत्साहित बनाउने पनि बताउनुभयो । 

कार्यक्रममा साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रमको अन्त्यमा साहित्य सदन नेपालका सहसचिव कृष्ण सुवेदी भारद्वाज मित्रले कवितात्मक मन्तव्य राख्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सञ्चालन सदनका सचिव प्रह्लाद पोख्रेल र सदस्य सुनीता बुढाथोकीले गर्नु भएको थियो । 

विश्व कविता दिवस हरेक वर्ष मार्च २१ तारिकका दिन विश्वभरि मनाउने गरिन्छ । युनेस्कोले सन् १९९९ बाट मार्च २१ तारिकका दिन विश्व कविता दिवसको घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार