प्रिय पाठकवृन्द,
सप्तरीको कञ्चनरूपबाट २०७७ साल आश्विन आजकै मितिबाट प्रारम्भ भएको हाम्रो साझा प्लेटफर्म Kanchan24.com आज पाँच वर्षको यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा हामी सबै तपाईंहरूप्रति हृदयदेखि कृतज्ञ छौँ।
पत्रकारिताको यो यात्रा सजिलो थिएन। हाम्रो सुरुवातकै बेला देश कोरोनाको भयावह संकटसँग जुधिरहेको थियो। बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै थलिएका थिए। लामो समयदेखि प्रकाशन भइरहेका पत्रपत्रिकाहरू पनि ठप्प भएका थिए। त्यही कठिन घडीमा हामीले नयाँ बाटो रोज्यौँ—सत्य र तथ्यलाई जनतासम्म पुर्याउने संकल्पसहित अनलाइन पत्रिका सुरु गर्ने हिम्मत गर्यौँ।
आज पछाडि फर्केर हेर्दा लाग्छ, त्यो निर्णय केवल जोखिम मात्र होइन, जिम्मेवारी पनि थियो। कम्पनी दर्तादेखि सूचना विभाग र प्रेस काउन्सिलको मापदण्डअनुसार अनुमतिपत्र प्राप्त गरी हामीले सुरु गरेको यो प्रयास अहिले जनविश्वाससँगै निरन्तर अघि बढिरहेको छ।
यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने विज्ञापनदाता महानुभाव, शुभेच्छुक, पाठक, लेखक, स्वास्थ्यकर्मी, व्यवसायी तथा सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद। तपाईंहरूको साथबिना यो यात्रा सम्भव हुने थिएन। तपाईंहरूको समर्थन नै हाम्रो प्रेरणा हो, यही प्रेरणाले हामीलाई हरेक चुनौतीमा दृढ बनाएको छ।
हामी सधैँ पत्रकारिताको धर्म, मर्म र आचारसंहिताप्रति प्रतिबद्ध छौँ। सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत जनतासमक्ष प्रभावकारी सूचना पुर्याउने हाम्रो प्रयास निरन्तर रहनेछ।
Kanchan24.com आजसम्मको यात्रामा जसरी तपाईँहरूलाई साथ दिन सकेको छ, भविष्यमा अझ सशक्त कलमसँग सेवा गर्न हामी दृढ संकल्पित छौँ। राष्ट्रियता, अखण्डता र स्वाभिमान हाम्रो सर्वोच्च प्राथमिकता हुनेछ।
अन्त्यमा, फेरि एक पटक हामी तपाईंलाई भन्न चाहन्छौँ—
हामी तपाईंहरूको वाणी बन्छौँ। हामीलाई सम्झिरहनुहोस्, पछ्याइरहनुहोस्।