कञ्चनरूप । कञ्चनरूप नगरपालिका १० स्थित भोडाहामा सोमबार राती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।
पालिकाको वडा नम्बर १० मा सोमबार राति १२ः३० बजेको समयमा गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी हुँदा कमेरुद्दिन शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर सहित आगलागीमा लत्ताकपडा ,फर्निचर, खाद्यान्न, लगायत सरसमान जल्दा १८ लाख वारवारको पूर्ण रुपमा जलेर क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
भगवानी चौधरीको ४ लाख, देवीलाल चौधरीको १२ लाख र कमेरुद्दिन शेखको २ लाख वारवारको घर सहित सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय युवाहरू , कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्र, कञ्चनरूप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको थियो ।
अग्निपीडित परिवारहरूलाई कञ्चनरूप नगरपालिकाबाट तत्काल च्यूरा,भुजा,चाउचाउ,बिस्कुट,तेल,नुन, करिब १० हजार बराबरको खाद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले जनाएका छन ।