कञ्चनरूप । कञ्चनरूप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३.८४ का लागि ६९ करोड २४ लाख ३९ हजार ७ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले बुधबार आयोजित तेह्रौँ नगर अधिवेशन सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख पोखरेलले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, सामाजिक विकास, वन–वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। प्रस्तुत बजेटमध्ये कार्यालय सञ्चालनतर्फ १६ करोड ७५ लाख ५९ हजार ७ सय रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको २४।२० प्रतिशत हो। त्यस्तै पूँजीगततर्फ १५ करोड ७२ लाख रुपैयाँ अर्थात २२।७० प्रतिशत बजेट छुट्याइएको छ। कार्यक्रम तथा सशर्ततर्फ ३६ करोड ७६ लाख ८० हजार रुपैयाँ अर्थात ५२।१० प्रतिशत बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख पोखरेलले संविधान, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, दिगो विकासका लक्ष्य, नगरपालिकाको आवधिक विकास योजना तथा क्षेत्रगत नीति–रणनीतिलाई आधार बनाएर बजेट तर्जुमा गरिएको बताइन्। उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै आर्थिक पुनरुत्थान, विकासको निरन्तरता, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सूचना प्रविधि, सुशासन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान तथा मधेश प्रदेश सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान प्राप्त हुने जनाएको छ। त्यस्तै आन्तरिक आयबाट ३ करोड ३ लाख ३ हजार ७ सय १० रुपैयाँ उठ्ने अनुमान गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा भौतिक पूर्वाधार विकास समितितर्फ सबैभन्दा बढी ९ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत नगरस्तरीय योजनाका लागि २ करोड ७५ लाख रुपैयाँ र वडास्तरीय योजनाका लागि ६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। नगरपालिकाले वडागत बजेट विनियोजन गर्दा जनसंख्या, राजस्व संकलन, कार्यसम्पादन र भूगोललाई आधार बनाइएको जनाएको छ।
सामाजिक विकासतर्फ २ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये स्वास्थ्य शाखाका लागि ८२ लाख, शिक्षा, युवा तथा खेलकुद शाखाका लागि ९८ लाख, महिला तथा बालबालिका शाखाका लागि ११ लाख, खानेपानी तथा सरसफाइ शाखाका लागि ११ लाख, पञ्जीकरण शाखाका लागि ८ लाख, सुरक्षित आप्रवासन ९सामी० इकाईका लागि ४ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि १८ लाख र धरमपुर आयुर्वेद औषधालयका लागि ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै आर्थिक विकासतर्फ ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ। यसअन्तर्गत कृषि विकास शाखाका लागि ३१ लाख, पशुपंक्षी विकास शाखाका लागि १८ लाख, सहकारी विकास शाखाका लागि ५ लाख, लघु उद्यम विकास शाखाका लागि ३ लाख र रोजगार सेवा केन्द्रका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी सुशासन तथा संस्थागत विकास समितिका लागि १ करोड १५ लाख ८० हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका लागि २० लाख रुपैयाँ, न्यायिक समितिका लागि १० लाख रुपैयाँ, नगर अस्पताल व्यवस्थापनका लागि २५ लाख रुपैयाँ र समपूरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। समपूरक कोषको रकम संघीय तथा प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने ठूला योजनामा खर्च गरिने जनाइएको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ मा ७६ करोड १८ लाख ७२ हजार ४ सय ६४ रुपैयाँ प्रस्तावित आयमध्ये हालसम्म ५५ करोड १६ लाख ४२ हजार २ सय १ रुपैयाँ ६५ पैसा आम्दानी भएको जनाएको छ, जुन प्रस्तावित आयको ७२।४ प्रतिशत हो। सोही अवधिमा ३१ करोड ११ लाख ६४ हजार ८२ रुपैयाँ ७३ पैसा खर्च भएको छ, जुन कुल प्रस्तावित आयको ४०।८४ प्रतिशत रहेको उपप्रमुख पोखरेलले जानकारी दिइन्।
यस्तै, आर्थिक वर्ष २०८१र८२ मा ७८ करोड २७ लाख ४० हजार १ सय रुपैयाँ प्रस्तावित आयमध्ये ६५ करोड १७ लाख १८ रुपैयाँ २६ पैसा यथार्थ आय भएको थियो। उक्त वर्ष ६१ करोड ५६ लाख ८४ हजार ३ सय ७ रुपैयाँ ८९ पैसा खर्च भएको थियो।
उपप्रमुख पोखरेलले प्रस्तुत बजेटले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग, समन्यायिक वितरण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्ने विश्वास व्यक्त गरिन्। सीमित स्रोत–साधनका बीच पनि नगरबासीको जीवनस्तर सुधार, सुशासन प्रवर्द्धन र समृद्ध कञ्चनरूप निर्माणको लक्ष्यसहित बजेट ल्याइएको उनको भनाइ थियो।