विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन तालिका अनुशार निर्धारित उम्मेदवारी दर्ता समयमा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । खतिवडाको प्रस्तावकमा ओखलढुंगाका रामप्रसाद दंगाल र समर्थकमा ताप्लेजुङका छत्रपति प्याकुरेल छन् भने ढकालको प्रस्तावकमा मोरङका मुकेश बुढाथोकी र समर्थकमा पनि मोरङकै महेश भट्टराई रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलले समेत सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम सुरु भएको हो । हुन त भोलि विहान ७ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएकाले त्यसबीचमा सहमति जुटाउने कसरत समेत हुने देखिन्छ ।
मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ । अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिनु भएको थियो । अध्यक्ष ओलीले खतिवडाको पक्षमा सहमति जुटाउन संकेत गरेको बताइएको छ ।