राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यो पटक चुनाव केवल प्रतिनिधि सभा सदस्य चयन गर्ने प्रक्रिया रहेन। यहाँको मतदानले मधेशको राजनीति कुन बाटो लाग्छ भन्ने प्रश्नको जवाफ खोज्दैछ। ३४ उम्मेदवार मैदानमा भए पनि जनचासो तीन पात्र वरिपरि केन्द्रित छ—डा। सीके राउत, सतिश सिंह र उमेश कुमार यादव। यी तीन नाम फरक राजनीतिक यात्रा, फरक दृष्टिकोण र फरक मतदाता आधारका प्रतिनिधि हुन्। यही फरकपनले सप्तरी–२ लाई बहसको केन्द्र बनाएको छ।
डा। सीके राउत आन्दोलनको गर्भबाट आएका नेता हुन्। संगठन विस्तार, मुद्दा केन्द्रित राजनीति र युवा पुस्तासँगको संवाद उनको मुख्य शक्ति हो।
तर आन्दोलनबाट संसदसम्मको यात्रामा उनले देखाउनुपर्ने अर्को चुनौती छ—के उनी नीति निर्माणमा त्यति नै प्रभावशाली बन्न सक्छन्रु
उता, सतिश सिंह शासनको अभ्यासबाट आएका नेता हुन्। प्रदेश सरकारको नेतृत्व गरिसकेका सिंहले आफूलाई काम गर्ने र परिणाम दिने नेताका रूपमा प्रस्तुत गरिरहेका छन्।
उनको उम्मेदवारी प्रदेश राजनीतिबाट संघीय राजनीतितर्फ नेतृत्व सर्ने संकेतका रूपमा पनि हेरिएको छ। तेस्रो धारमा छन् उमेश कुमार यादव—अनुभव, संगठन र परम्परागत मतदाताको भरोसामा उभिएका नेता। उनको उम्मेदवारीले चुनावलाई सरल होइन, निर्णायक बनाइदिएको छ। सप्तरी–२ का मतदाताको प्राथमिकता पनि परिवर्तनको चरणमा छ। अब मतदाता जातीय अपील मात्र सुन्न चाहँदैनन्, उनीहरू रोजगारी, सेवा, पहुँच र प्रभाव खोजिरहेका छन्।
यही कारण नयाँ अनुहार र वैकल्पिक राजनीतिले यहाँ सधैं स्थान पाउँदै आएको छ। इतिहासले पनि यही संकेत गर्छ। २०५६ सालयता सप्तरी–२ बाट कुनै पनि प्रतिनिधि सभा सदस्य दोहोरिएको छैन। परिवर्तन यहाँ परम्परा बनेको छ।
यो चुनावलाई संगठनको बल र व्यक्तित्वको प्रभावबीचको टकरावका रूपमा पनि हेरिँदैछ।जनमत पार्टी बलियो संगठनको दाबी गरिरहेको छ। स्वाभिमान पार्टी सतिश सिंहको छविमा केन्द्रित छ।जसपा नेपाल परम्परागत संरचनामा भरोसा गरिरहेको छ। अन्ततः मतदाता कसलाई प्राथमिकता दिन्छ—
पार्टीलाई कि व्यक्तिलाई ?मुद्दालाई कि अनुभवलाई? ३४ उम्मेदवारमध्ये धेरैको उपस्थिति मत विभाजनका लागि मात्रै देखिए पनि, उमेश कुमार यादवको उम्मेदवारीले चुनावी गणित बदल्ने क्षमता राख्छ। परिणाम नजिकिँदा उनको मत आधार कसतर्फ जान्छ भन्ने प्रश्न नै निर्णायक बन्न सक्छ।सप्तरी–२ मा खस्ने प्रत्येक मत केवल एउटा सिटका लागि होइन। यो मधेशको राजनीतिक भविष्यप्रति जनताले दिएको सन्देश हुनेछ। डा। सीके राउतलाई जित भनेको आन्दोलनको संस्थागत स्वीकार्यता हो। सतिश सिंहका लागि जित भनेको प्रदेशबाट केन्द्रतर्फको वैध यात्रा हो। उमेश यादवका लागि जित वा हारभन्दा ठूलो कुरा निर्णायक भूमिका हो। यसैले, सप्तरी–२ को चुनाव प्रतिस्पर्धा मात्र होइन, संकेत हो । मधेशको राजनीति अब कुन दिशातर्फ मोडिँदैछ भन्ने संकेत।