मोरङ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको निर्देशनमा सहिदको मूर्ती तोडफोड गरिएको भन्दै नगरपालिकामा तालावन्दी गरिएको र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको भन्दै लेटाङ नगरपालिकाले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले शुक्रबार विज्ञप्ती जारी गर्दै २०७३ सालमा नै सर्वदलिय बैठकबाट वसपार्क निर्माण गर्ने भनि निर्णय गरिएको र हाल डीपीआर निर्माण गर्ने चरणमा रहेको अवस्थामा पूर्वस्विकृति समेत नलिइ रातको समयमा मूर्ती स्थापना गरिएको पाइएको जनाएको छ ।
नगर प्रवक्ता भूम बहादुर सूर्यमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसरी सार्वजनिक स्थानमा रातको समयमा मूर्ती राख्दा त्यो स्थान दावी गरिरहेको अर्को समूह आक्रोसित भइ झडपको स्थिती सृजना हुने देखेर संरक्षणका लागि मूर्ती सकुशल इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको जनाइएको छ ।
नगरपालिकासँग सल्लाह र सहकार्य नगरी सहिद परिवारको अपमान हुने गरि रातको समयमा सालिक राखिनु सहिद र सहिद परिवारको अपमान भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा प्रतिसोध र पूर्वाग्राही ढंगले हुल हुज्जत गरि नगर प्रमुखको कार्यकक्षमा ताला लगाइएकोप्रति नगरपालिकाले आपत्ति जनाएको छ ।
यसैबीच नगर प्रमुखको कार्यकक्षमा लगाइएको ताला केहिसमय पछि खोलिएको छ । सेवाग्राहीलाई समस्या भएपछि ताला खोलिएको नगर प्रमुखको सचिवालयले जनाएको छ । ताला नखोल्दा धेरै टाढबाटा धाएर आएका सेवाग्राहीलाई समस्या हुने भएपछि ताला खोलिएको सचिवालयको भनाइ छ ।
यस्तो भएको थियो घटनाक्रम
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक तोडफोड गरिएको भन्दै शुक्रबार विहान नेकपा माओवादी केन्द्रका स्थानीय नेता कृष्ण लम्सालले समाजिक सञ्जालमा पोष्ट गर्नुभयो । त्यसपछि केही अनलाइन सञ्चारमाध्यममा सोही प्रकारका समाचार आए । समाचारको लिंक र फेसबुक पोष्टहरुमा धेरै जनाले सालिक तोडफोड गरिएको कुरा निन्दनिय भएको भन्दै नगर प्रमुखको विरोधमा प्रतिकृया जनाए ।
सोही समय आसपासमा लेटाङका माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले नगरपालिका पुगेर नगर प्रमुखको कार्यकक्षमा तालावन्दी गरिदिए र नगर प्रमुख विरुद्ध नारावाजी समेत गरे । त्यसपछि दिउँसो तिर सो शालिक तोडफोड गरिएको नभइ इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको भनेर समाजिक सञ्जालमा पोष्ट आउन थाल्यो ।
फेरि साँझतिर लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालय अगाडी राखिएको सहिदको सालिक हराएको भनेर सामाजिक सञ्जालमा पोष्ट आउन थाल्यो । शुक्रबार विहानदेखिको घटनाक्रमले दिनभर लेटाङवासीका सामाजिक सञ्जाललाई ततायो ।
तर शुक्रबार साँझसम्म आइपुग्दा यो कुरा स्पष्ट भयो की लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास मावि अगाडी वर्षौं अघिदेखि राखिएको सहिद हरि भट्टराईको सालिक निकालेर विहीबार साँझ तिर लेटाङ ४ स्थित वसपार्क निर्माणका लागि संरक्षण गरिराखिएको क्षेत्रमा लगेर पिल्लर बनाएर ठड्याइएको रहेछ ।
सो जग्गामा पतञ्जली योग साधना केन्द्र निर्माण गर्ने भनेर वोर्ड राखिएकोमा नगरपालिकाले सो वोर्ड र सालिक दुवै हटाएको जनाएको छ । नगरपालिकाको विज्ञप्तीमा समेत अर्को पक्ष आक्रोसित भइ झडप हुनसक्ने भनेकाले योग साधाना केन्द्रका अभियन्ताहरुले आपत्ती जनाएपछि नगरपालिकाले सालिकको सुरक्षाका लागि भन्दै रातारात सालिकलाई इलाका प्रहरी कार्यालय पुर्याएको देखिएको छ ।
यता केही व्यक्तिले फेसवुक पोष्ट गर्दै सो सालिक पुरानै ठाउँ शिक्षा विकास माध्यमिक विद्यालय अगाडी ल्याएर राख्नुपर्ने माग गरेका छन् ।
पढ्नुहोस् नगरपालिकाद्वारा जारी विज्ञप्ती :
यथार्थमा भएको यहि हो भन्ने प्रमाणित हुँदैछ,सामाजिक संजालमा विभिन्न तरिकाले गालिगलोज,टिकाटिप्पणी भइ रहेकोछ,तथ्य बुझेरमात्र कमेन्टगर्न अनुरोध गर्छु, सहिद देशको हाे र अम्मर रहन्छ।वार्ताको माध्यमबाट समस्याको समाधान निकालौ।