कञ्चनपुर, सप्तरी । कञ्चनरुप नगरपालिकाले पोषण तथा जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण पहल गर्दै वडा नं. ३ स्थित बरमझिया स्वास्थ्य चौकीलाई नगरपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको छ।
नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बुधबार सम्पन्न विशेष समारोहबीच स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि र स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा नगर उपप्रमुख मुना कुमारी पोखरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, चिकित्सक, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए। विश्व स्वास्थ्य संगठन (WHO), सबल नेपाल, स्वास्थ्य कार्यालय सप्तरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधिसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीको पनि उपस्थिति रहेको थियो।
स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका–२०७९ अनुसार तोकिएका आवश्यक मापदण्ड पूरा गरेपछि उक्त घोषणा गरिएको जनाइएको छ। स्वास्थ्य सेवा र पोषणसम्बन्धी सूचकहरूको मूल्यांकन तथा प्रमाणीकरण प्रक्रियापछि बरमझिया स्वास्थ्य चौकीलाई नगरपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बनाइएको हो।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा औपचारिक कार्यक्रम मात्र नभई समुदायको स्वास्थ्य अवस्था सुधार गर्ने दीर्घकालीन अभियानको सुरुवात भएको नगरपालिकाले जनाएको छ।
यसअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य निगरानी, बालबालिकाको वृद्धि तथा पोषण अवस्थाको अनुगमन, कुपोषण पहिचान तथा न्यूनीकरण, स्तनपानसम्बन्धी सचेतना, खोप सेवा र समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारलाई प्राथमिकता दिइनेछ।
वक्ताहरूले पोषण सुधारका कार्यक्रमलाई कागजी प्रक्रियामा सीमित नगरी समुदायको दैनिक जीवनसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न नियमित अनुगमन, मूल्यांकन र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने कर्मचारी तथा विभिन्न सरोकारवालालाई सम्मान गरिएको थियो। अतिथिहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गरी स्वागत गरिएको कार्यक्रममा चन्द्रकिशोर पण्डितले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन डम्बर गुप्ताले गरेका थिए।
कञ्चनरुप नगरपालिकाले बरमझिया स्वास्थ्य चौकीलाई आधार बनाउँदै नगर क्षेत्रका अन्य स्वास्थ्य संस्थालाई समेत क्रमशः पोषणमैत्री बनाउने लक्ष्य अघि सारेको छ। नगरपालिकाको यो पहलले कुपोषण, रक्तअल्पता तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी समस्याको न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।