ककञ्चनरूप। घरमा चाडपर्वको रौनक सुरु हुनुअघि नेपाली समाजमा पुर्खालाई सम्झिने समय आएको छ। दिवङ्गत आमाबुबा, बाजेबज्यै तथा आफन्तप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सुरु भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष १६ दिनसम्म चल्ने धार्मिक परम्परा हो। यस अवधिमा दिवङ्गत आफन्तको मृत्यु तिथिअनुसार श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने चलन छ।
पितृपक्षलाई केवल कर्मकाण्डको समय मात्र नभई आफूलाई जन्म दिने, हुर्काउने र संस्कार दिने पुर्खाहरूलाई सम्झने अवसरका रूपमा लिइन्छ। आफ्ना पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको योगदान र संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउने परम्पराका रूपमा पनि सोह्रश्राद्धलाई लिने गरिन्छ।
मृत्यु तिथि थाहा नभएका वा नियमित तिथिमा श्राद्ध गर्न नसक्नेहरूले पितृपक्षको अन्तिम दिन सर्वपितृ औँसीमा श्राद्ध तथा तर्पण गर्ने परम्परा छ।
पितृपक्ष सुरु भएसँगै विभिन्न तीर्थस्थल, नदी तथा धार्मिकस्थलमा पितृको सम्झनामा तर्पण र पिण्डदान गर्ने श्रद्धालुको चहलपहल बढ्ने गर्छ।
पुर्खा सम्झिने यी १६ दिनले एउटा पुरानो संस्कारलाई फेरि सम्झाउँछन्—आज हामी जहाँ छौँ, त्यसको जग कतै हाम्रा पुर्खाहरूले नै बनाएका थिए।
आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना
११ अशोज २०८३, आइतबार