कञ्चनरूप । भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? बुधबारदेखि मौसमी प्रभाव सुरु हुने र असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको प्रशासनको सूचनापछि जिल्लाका डुबान प्रभावित बस्तीमा सम्भावित विपद् रोक्न स्थानीय तह र प्रदेश सरकारको तयारीमाथि प्रश्न उठेको छ ।
सप्तरीमा बाढी आउनैपर्छ भन्ने छैन । केही घण्टाको लगातार वर्षा र पानीको कमजोर निकासले मात्रै पनि होचा तथा जोखिमयुक्त बस्ती डुबानमा पर्ने अवस्था विगतदेखि दोहोरिँदै आएको छ । यस्तो अवस्थामा मौसम पूर्वानुमानले भारी वर्षाको सम्भावना देखाइसकेपछि जोखिम न्यूनीकरणका लागि सरकारको सक्रियता अझ महत्वपूर्ण बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिसकेको छ । तर सूचना जारी गर्नु मात्रै पर्याप्त हुँदैन । जोखिममा रहेका बस्तीको पहिचान, पूर्वसूचना प्रणाली सक्रियता, उद्धार टोलीको तयारी, राहत सामग्रीको व्यवस्थापन र सुरक्षित स्थानको पहिचानजस्ता काम पूर्वतयारीकै चरणमा पूरा हुनुपर्छ ।
विशेषगरी विगतमा डुबानमा परेका बस्ती, नदी तथा खोलाको आसपासका क्षेत्र र पानी निकासको समस्या रहेका शहरी तथा ग्रामीण बस्तीमा स्थानीय तहले तत्काल जोखिम मूल्यांकन गर्नुपर्ने देखिन्छ ।
विपद् आएपछि उद्धार र राहतका लागि सक्रिय हुनु नियमित अभ्यासजस्तो बनेको छ । तर विपद् आउनुअघि नै जोखिम पहिचान गरेर नागरिकलाई सचेत गराउने र आवश्यक तयारी गर्ने प्रणाली बलियो बनाउन नसके हरेक वर्ष एउटै समस्या दोहोरिने जोखिम रहन्छ ।
त्यसैले अहिलेको मौसम पूर्वानुमानलाई सामान्य सूचना मानेर बस्नेभन्दा सम्भावित डुबानअघि नै सरकार बस्तीमा पुग्नुपर्ने अवस्था हो ।
अब हेर्नुपर्ने विषय एउटै छ—मौसमले चेतावनी दिइसक्दा सप्तरीका स्थानीय तह र प्रदेश सरकार विपद् आउनुअघि नै तयारीमा उत्रिएका छन् कि फेरि पानी परेपछि मात्रै उद्धारका लागि दौडिनेछन् ?
भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ?
६ अशोज २०८३, मङ्गलबार