कञ्चनरूप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाको नगर सभापतिमा सुरज पोखरेल सर्वसम्मत चयन भएका छन्।
दुई दिनसम्म चलेको नगर अधिवेशनमा नेतृत्वका लागि आकांक्षीहरूबीच रस्साकसी भए पनि अन्तिम समयमा सहमति जुटेपछि पोखरेललाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको हो। नगर सभापतिका लागि पप्पु गुप्ता आकांक्षी थिए भने सुरज पोखरेल र बैजु गुप्ताले उम्मेदवारी दिएका थिए।
सहमतिको प्रयासपछि अन्ततः पोखरेलको नाममा सहमति जुटेको स्थानीय कांग्रेस नेताहरूले बताएका छन्।
नगर उपसभापतिमा समशिर शेख, सचिवमा अमरेन्द्रकुमार शाह र सहसचिवमा विद्यानन्द मण्डल चयन भएका छन्।
कञ्चनरूप नगरपालिकाका १२ वटै वडामा वडा सभापति तथा वडा कार्यसमिति यसअघि नै चयन भइसकेका थिए। वडा तहको नेतृत्व चयनपछि नगर अधिवेशनमार्फत नगर नेतृत्वसमेत टुंगो लागेसँगै कञ्चनरूप कांग्रेसको संगठनात्मक संरचना थप स्पष्ट भएको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। नगर अधिवेशनबाट स्थानीय संगठनको नेतृत्व चयन हुने भएकाले कञ्चनरूपको अधिवेशनलाई स्थानीय कांग्रेसभित्र महत्वपूर्ण चरणका रूपमा हेरिएको थियो।
नगर सभापतिमा पोखरेल सर्वसम्मत चयन भएसँगै अब नयाँ नेतृत्वसामु वडा तहका संगठनलाई समन्वय गर्दै पार्टी गतिविधिलाई थप सक्रिय बनाउने चुनौती रहेको कांग्रेस नेताहरूले बताएका छन्।
कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत
१३ अशोज २०८३, मङ्गलबार