कञ्चनरूप । यस वर्षको बडादशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजयादशमीका दिन कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ।
समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाइएको छ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनासँगै बडादशैं सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा फेर्दा पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ।
त्यसैगरी, असोज ३१ गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेटमा र स्थिरासनको शुभसाइत बिहान १० बजेर ३९ मिनेटमा रहेको छ।
कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी परेको छ। त्यसको भोलिपल्ट कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ। सोही दिन देवी विसर्जन, मान्यजनबाट टीका तथा जमरा ग्रहण र आशीर्वाद लिने परम्परा रहेको छ।
विजयादशमीकै दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। त्यस्तै, स्थिरासनको शुभसाइत बिहान ११ बजेर ५२ मिनेटमा रहेको समितिले जनाएको छ। सोही दिन खड्गयात्रासमेत हुनेछ।
यस वर्षको दशैंसम्बन्धी धार्मिक अनुष्ठानअन्तर्गत कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।
घटस्थापनादेखि सुरु हुने नवरात्रमा शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरिन्छ। विजयादशमीका दिन देवीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउने परम्परा छ।
यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने
२० अशोज २०८३, मङ्गलबार