कञ्चनरूप ।सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित पेट्रोल पम्प नजिकबाट प्रहरीले ९ किलो २७५ ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ९ बजे कञ्चनपुर–फत्तेपुर सडकखण्डमा अवैध लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी फत्तेपुर, अस्थाइ प्रहरी पोष्ट आम्बासी उदयपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फत्तेपुरको संयुक्त टोलीले चेकजाँच गरेको थियो।
फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.२–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्न खोज्दा मोटरसाइकल छाडेर भाग्न खोजेका तीन जनालाई प्रहरीले पिछा गरी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले बोकेको कालो झोला चेकजाँच गर्दा ९ किलो २७५ ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–८ का मधु यादवका २८ वर्षीय छोरा शिव नारायण यादव, महादेवा गाउँपालिका–३ का लक्ष्मण यादवका २३ वर्षीय छोरा ललित कुमार यादव र सप्तकोशी नगरपालिका–१० का पुलकित यादवका ४८ वर्षीय छोरा उपेन्द्र यादव रहेका छन्।
उनीहरूसँगै उक्त लागुऔषध र प्र.२–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा राखिएको छ। सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।
९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ
१५ अशोज २०८३, बिहीबार