कञ्चनरूपको बेरुजु ६३ करोड ८२ लाख ६८ हजार, ३५ लाखको मासुभात, मासु चिउरा
५ आषाढ २०८२, बिहीबार
कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा आर्थिक वर्ष २०८०\८१को लेखापरीक्षण गर्दा ३ करोड ८८ लाख ८६ हजार बेरुजु देखिएको छ भने हाल सम्मको हालसम्मको अद्यावधिक बेरुजु ६३ करोड ८२ लाख ६८ हजार रहेको छ ।
२०८०÷८१मा कञ्चनरूप नगरपालिकाको १ अर्ब ९० करोड ८१ लाख ६४ हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ८८ लाख ८६ हजार बेरुजु थपिदा अद्यावधिक बेरुजु ६३ करोड ८२ लाख ६८ हजार पुगेको महालेखाको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।
गत वर्षसम्म ६० करोड ११ लाख ६४ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र फर्स्यौट एवं यस वर्ष कायम बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु . ६३ करोड ८२ लाख ६८ हजार रहेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।
कञ्चनरुप मा ७ लाख ७ हजारको प्रतिक्रियाबाट फर्स्यौट भएको बाँकी बेरुजुमा असुल गर्नुपर्ने २३ लाख ९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड २५ लाख ३७ हजार, नियमित गर्नुपर्ने १ करोड ६ लाख ५७ हजार र पेस्की बाँकी २६ लाख ७६ हजार समेत यस वर्ष ३ करोड ८१ लाख ७९ हजार बेरुजु कायम रहेको छ ।
३५ लाखको मासुभात, मासु चिउरा
३६ लाखको बजेट विनियोजन गरि ३५ लाख ६ हजार ,९ सय ५२को मासुभात, मासु चिउरा, लगायत खाजा खानाको बिल पेश हुने गरेको महालेखाको लेखापरीक्षण प्रतिवेदन २०८०\८१मा उल्लेख छ ।
महालेखा नियन्त्रक कार्यालयद्वारा प्रकाशित एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या (दोश्रो परिमार्जन) २०७४ को २२७११ विविध खर्च शिर्षकबाट वार्षिक कार्यक्रममा स्वीकृत भएका मनोरञ्जन, प्रदर्शन, चियापान र भोजहरू सम्बन्धी खर्च, कार्यालय सुरक्षा सम्बन्धी आवश्यक खर्च, प्रतिनिधि मण्डलको स्वागत खर्च र अतिथि सत्कार खर्च र अन्य कुनै खर्च शीर्षकमा नपरेका नियमानुसार गर्नुपर्ने विविध खर्च भुक्तानी गर्ने व्यवस्था छ । यस पालिकाको विविध खर्च शीर्षकमा ३६ लाख बजेट विनियोजन गरि ३५ लाख ६ हजार ९ सय ५२ खर्च गरेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । खर्च गर्दा बिलमा सयौँको सङ्ख्यामा मासुभात, मासु चिउरा, लगायत खाजा खानाको बिल पेश हुने गरेको छ । खर्च सङ्केतको वर्गीकरणमा उल्लेख भए अनुसार स्वागत कार्यक्रमको चियापान, भोज सम्बन्धी, सुरुक्षा, प्रतिनिधि मण्डलको स्वागत कार्य भएको पुष्टि हुने प्रमाण कागजात संलग्न नगरी होटल बिलमात्र पेश हुने गरेको छ । पेश भएका बिलबाट मात्र खर्च पुष्टि हुने देखिदैन । खर्चका प्रत्येक बिलमा के कुन कार्यक्रम वा समारोहमा खर्च भएको हो पुष्टि हुने उपस्थिति लगायतका प्रमाण पेश गर्नुपर्दछ। औचित्य पुष्टि नहुने खर्चलाई नियमित मान्न सकिदैन । प्रत्येक खर्चको औचित्य पुष्टि हुने प्रमाण कागजात पेश गरि यस्तो खर्चमा नियन्त्रण तथा मितव्ययिता ल्याउनु पर्दछ भनी महालेखाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।