सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा

Kanchan24 348+ समाचार ( )
१३ अशोज २०८३, मङ्गलबार

कञ्चनरूप । नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. १ को नेतृत्वका लागि नगर प्रमुखदेखि पुराना कांग्रेस नेतासम्मका चार आकांक्षी मैदानमा देखिएपछि क्षेत्रीय सभापतिको प्रतिस्पर्धा पेचिलो बनेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागि वर्तमान सभापति लालनप्रसाद गुप्ता, कृष्णप्रसाद ढकाल, दीपककुमार गुप्ता र तेजनारायण यादव आकांक्षीका रूपमा देखिएका छन्। चारै जनाले आफ्नो राजनीतिक तथा संगठनात्मक पृष्ठभूमिका आधारमा नेतृत्वको दाबी अघि सारेका छन्।
लालनप्रसाद गुप्ता कञ्चनरूप नगरपालिकाका वर्तमान नगर प्रमुख हुन्। क्षेत्रीय नेतृत्वको अनुभवसमेत रहेका गुप्ताले पुनः क्षेत्रीय सभापतिको जिम्मेवारीका लागि दाबी अघि सारेका छन्। स्थानीय तहको नेतृत्वमा रहेको उनको भूमिकालाई समेत यस प्रतिस्पर्धामा महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
उता कृष्णप्रसाद ढकाल पनि स्थानीय तहकै नेतृत्वबाट क्षेत्रीय सभापतिको दौडमा आएका छन्। उनी सप्तकोशी नगरपालिकाका वर्तमान नगर प्रमुख हुन्। नगर नेतृत्वमा रहेको अनुभवलाई पार्टीको क्षेत्रीय संगठनमा विस्तार गर्ने लक्ष्यसहित ढकाल आकांक्षी बनेका हुन्।
दीपककुमार गुप्ता नेपाली कांग्रेसका पुराना नेता हुन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका गुप्ताले क्षेत्र नं. १ को नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्। त्यस्तै तेजनारायण यादव पनि कांग्रेसका पुराना नेता हुन्। पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादवले समेत क्षेत्रीय सभापतिका लागि आकांक्षा राखेका छन्।
चार नेताको दाबीले सप्तरी–१ को कांग्रेस अधिवेशनमा नेतृत्व चयनलाई चासोको विषय बनाएको छ। एकातिर स्थानीय तहको नेतृत्व सम्हालिरहेका दुई नगर प्रमुख छन् भने अर्कोतर्फ लामो राजनीतिक अनुभव भएका दुई पुराना कांग्रेस नेता छन्। अब क्षेत्र नं. १ को कांग्रेस नेतृत्व कसको हातमा पुग्छ भन्ने निर्णायक भूमिका क्षेत्रीय प्रतिनिधिको मतले तय गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार