लेटाङ । लेटाङ नगरपालिकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु गरेको छ । सामुदायिक कुकुरहरुको कारण रेबिज रोगको जोखिम तथा सवारी दुर्घटना समेत बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि नगरपालिकाले बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अन्तरगत नगरका विभिन्न ठाउँमा रहेका सामुदायीक कुकरहरुलाई नगर प्रहरी परिचालन गरि नियन्त्रणमा लिएर पशु अस्पतालमा लगेर बन्ध्याकरण गरि रेविज खोप लगाइने नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।

यसैगरि नगरवासीले समेत आफ्नो गाउँ टोलमा भएका सामुदायीक कुकुरलाई पशु अस्पतालमा ल्याएर सहयोग गर्न सक्ने उहाँको भनाइ छ । नगर प्रमुख लावतीले सम्पूर्ण नगरवासीहरुलाई नगरको यो कार्यक्रममा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
असोज ७ गतेदेखि यो कार्यक्रम सुरु भएकोमा हालसम्म २५ वटा कुकुरहरुको बन्ध्याकरण गरि रेबिज खोप लगाइ सकिएको लेटाङ पशु अस्पतालका पशु चिकित्सक डा. सम्भव घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम लेटाङ नगरपालिकाको पशु अस्पतालमा असोज १२ गतेसम्म संचालन हुने छ । कार्यक्रमको बारेमा नगरवासीलाई जानकारी गराउन नगरपालिकाले वडा वडामा माइकिङ गरि प्रचार प्रसार समेत गरिरहेको छ ।