कञ्चनरूप । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेको छ। मंगलबार राति ८:२० बजे गरिएको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको मात्रा २ लाख १० हजार ४४५ क्युसेक पुगेको छ।
पानीको सतह हाल स्थिर (Steady) अवस्थामा रहे तापनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेज प्रशासनले खतराको सूचक मानिने रातो बत्ती बालेको छ। नदीमा पानीको प्रवाह नियन्त्रण तथा निकासलाई सहज बनाउन ब्यारेजका ५६ वटा ढोकामध्ये २५ वटा ढोका खोलिएका छन्।
नियमानुसार कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै सर्वसाधारण तथा स्थानीयबासीलाई सचेत गराउन ब्यारेजको पश्चिमतर्फ खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। पानीको मात्रा २ लाख क्युसेकभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र कटानको जोखिम उच्च मानिन्छ।
सम्बन्धित स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन निकायले कोशी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नदीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै नदी किनार आसपास नजान, माछा मार्न वा काठ सङ्कलन गर्न नछाड्न र सुरक्षित स्थानमा रहन अपिल गरिएको छ। स्थितिमाथि निरन्तर निगरानी भइरहेको र सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।