कञ्चनरूप । सप्तरी सहित मिथिला क्षेत्रमा सोमबार बटसाबित्री अर्थात् वरसाइत पर्व मनाएको छ । नवविवाहित महिलाहरूले पतिको दिर्घायू तथा सन्तान प्राप्तिको कामना गर्दै यो पर्व मनाइने प्रचलन छ ।
मिथिलाञ्चलमा सोमवार बटसाबित्री अर्थात् वरसाइत पर्व मनाइएको छ ।
विवाहित महिलाहरूले मनाउने यो पर्वलाई लिएर वर भएको ठाउँमा महिलाहरूको पूजाका लागि बिहानैदेखि भीड लागेको छ । पर्वमा महिलाहरू नयाँ सारी साया, ब्लाउज, लहठी, श्रृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्ने गर्दछन् । नव विवाहित महिलाहरूका लागि यस पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउने गर्दछ ।
बटसाबित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रुपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारित्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ । हिन्दु धर्ममा पीपलको बोट जस्तै बरको बोटको पनि उत्तिकै महत्व रहेको छ ।