लामखुट्टे नियन्त्रणका लागि सरसफाई अभियान कडा बनाइने, फोहोर जथाभावी फाल्नेलाई जरिवानाको चेतावनी
राजविराज । नगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएपछि विषादी छर्किनुपर्ने माग जनस्तरबाट तीव्र बन्दै गइरहेका बेला राजविराज नगरपालिकाले महामारीको अवस्था नहुँदासम्म लामखुट्टेविरुद्ध रासायनिक विषादी प्रयोग गर्न नमिल्ने स्पष्ट पारेको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्देशिका दुवैलाई मध्यनजर गर्दै हालका लागि विषादी छर्किने विकल्प अपनाउन नसकिएको जनाएको हो।
कार्यबाहक नगरप्रमुख इसरत परवीनले लामखुट्टे नियन्त्रणका लागि विषादीभन्दा पनि सरसफाईलाई प्राथमिकतामा राखिएको बताउँदै मुख्य सडक, भित्री गल्ली तथा नालाको नियमित सफाइलाई अझ प्रभावकारी बनाइने जानकारी दिइन्। उनले जथाभावी फोहोर फाल्ने व्यक्तिहरूलाई अब जरिवानाको दायरामा ल्याइने चेतावनीसमेत दिइन्।
उनका अनुसार, जेनजी आन्दोलनका क्रममा सरसफाइमा प्रयोग हुने नगरपालिकाका सवारी साधनहरू जलेर नष्ट भएपछि फोहोर व्यवस्थापनमा ठूलो समस्या उत्पन्न भएको थियो। यद्यपि अहिले भाडामा सवारी साधन लिएर दैनिक १५ वटा ट्याक्टरमार्फत सफाइ कार्य सञ्चालन भइरहेको छ। निकट भविष्यमा थप सवारी साधन प्रयोगमा ल्याउन खरिद प्रक्रिया अघि बढाइने पनि उनले बताइन्।
नगरपालिकाले यसअघि घर–घर तथा पसल–पसलमा डस्टबिन वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग नहुँदा फोहोर व्यवस्थापनमा अपेक्षित सुधार आउन नसकेको नगरप्रमुख परवीनको भनाइ छ।
लामखुट्टे नियन्त्रणका लागि विषादी छर्किने विषयमा नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग औपचारिक समन्वय गरेको थियो। तर कुनै महामारी पुष्टि नभएसम्म त्यस्तो विषादी प्रयोग गर्न नमिल्ने जवाफ आएपछि प्रक्रिया रोकिएको उनले स्पष्ट पारिन्।
उनले त्यस्ता रासायनिक विषादीले लामखुट्टेमात्र नभई मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पार्न सक्ने भएकाले वैकल्पिक उपाय अवलम्बन गर्नु बाध्यात्मक बनेको बताइन्।
पत्रकार सम्मेलनमा नगर स्वास्थ्य शाखा प्रमुख कामेश्वर यादवले कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी नदेखिएको अवस्थामा विषादी छर्नु जनस्वास्थ्य मापदण्ड तथा मन्त्रालयको निर्देशिकाविपरीत हुने उल्लेख गरे। उनका अनुसार लामखुट्टे नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको प्रजनन स्थल नै नष्ट गर्नु हो, जसका लागि फोहोर व्यवस्थापन र पानी जम्ने स्थानको सफाइ अनिवार्य छ।
यस्तै, नगरपालिकाका योजना अधिकृत मनोज यादवले लामखुट्टेको प्रकोप नियन्त्रणमा सामुदायिक सहभागिता अपरिहार्य रहेको बताउँदै टोल–टोलमा टोल सुधार समिति र टोल विकास समिति गठन गरेर अनुगमनलाई थप कडाइका साथ अघि बढाइने जानकारी दिए।
नगरपालिकाले स्पष्ट सन्देश दिँदै भनेको छ—लामखुट्टे नियन्त्रणको स्थायी उपाय विषादी होइन, सरसफाई र जनचेतना हो।