काठमाडौं । सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाएका राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज आइतबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।
उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाडौंमै आन्दोलन जारी राख्ने बताउनुभयो । सरकार र महासंघबीचको सहमतिमा राहत शिक्षकसँगै बालविकास शिक्षक, विद्यालय कर्मचारी, पेन्सन वञ्चित शिक्षक पनि असन्तुष्ट छन् । सरकार र शिक्षक महासंघबीच भएको सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।
शिक्षक महासंघले राहत, साबिक उमावि, अस्थायी÷करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायत अस्थायी रूपमा कार्यरत शिक्षकलाई दरबन्दी कायम गरी शतप्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी हुने सुनिश्चित गर्नुपर्ने माग अघि सारेको थियो ।
सरकारसँग भएको सहमतिमा यस्ता शिक्षकमध्ये ७५ प्रतिशतलाई मात्र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख छ । सरकारले भदौ २७ गते संसद्मा दर्ता गराएको विधेयकमा भने ५० प्रतिशतलाई मात्र सीमित प्रतिस्पर्धा र ५०
प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।