कञ्चनरुप । नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय (NSO) ले जनवरी २०२६ मा सार्वजनिक गरेको Small Area Estimation of Poverty, 2023 (Nepal Poverty Map 2023) अनुसार मधेस प्रदेशको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ ।
अध्ययनमा नेपाल जीवनस्तर सर्वेक्षण IV (२०२२/२३) र राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क प्रयोग गरिएको छ। राष्ट्रिय गरिबी रेखा प्रतिव्यक्ति वार्षिक रु. ७२,९०८ मानिएको छ।
मधेस प्रदेशको गरिबी दर २२.५३ प्रतिशत रहेको छ भने राष्ट्रिय औसत २०.२७ प्रतिशत छ। प्रदेशको ग्रामीण क्षेत्रमा गरिबी २४.९६ प्रतिशत र सहरी क्षेत्रमा २१.७१ प्रतिशत देखिएको छ। नेपालका कुल गरिब जनसंख्यामध्ये करिब एक चौथाइ अर्थात् २५.१ प्रतिशत मधेस प्रदेशमा बसोबास गर्छन्।
आठ जिल्लामा रौतहट अगाडि
मधेसका आठ जिल्लामध्ये सबैभन्दा बढी गरिबी रौतहटमा रहेको छ। रौतहटमा गरिबी दर ३२.३३ प्रतिशत रहेको छ भने त्यहाँ २ लाख ६२ हजार ९०५ जना गरिब रहेको अनुमान छ।
दोस्रो स्थानमा सर्लाही (२६.७० प्रतिशत, २ लाख २९ हजार ६९४ जना), तेस्रोमा बारा (२५.८२ प्रतिशत, १ लाख ९६ हजार ५३६ जना) र चौथोमा सप्तरी (२५.३७ प्रतिशत, १ लाख ७८ हजार ६९७ जना) रहेको छ।
त्यसपछि महोत्तरी २४.०१ प्रतिशत, सिरहा २२.७४ प्रतिशत, पर्सा २०.६१ प्रतिशत र धनुषा २०.१० प्रतिशत रहेको छ।
जिल्लागत वर्गीकरण अनुसार ३० प्रतिशतभन्दा माथि अति उच्च गरिबी भएको जिल्ला रौतहट मात्र हो। सर्लाही, बारा र सप्तरी उच्च गरिबी (२५-३० प्रतिशत) समूहमा पर्छन्। महोत्तरी, सिरहा, पर्सा र धनुषा मध्यम गरिबी (२०-२५ प्रतिशत) समूहमा छन्।
सप्तरी जिल्लाको अवस्था
सप्तरीमा कुल जनसंख्या ७ लाख ४ हजार ३५५ रहेकोमा १ लाख ७८ हजार ६९७ जना गरिब रहेको अनुमान छ। जिल्लाको गरिबी दर २५.३७ प्रतिशत छ।
जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी गरिबी महादेवा गाउँपालिकामा ३५.३६ प्रतिशत रहेको छ। दोस्रोमा विष्णुपुर गाउँपालिका २९.७२ प्रतिशत र तेस्रोमा शम्भुनाथ नगरपालिका २९.५० प्रतिशत छ।
सबैभन्दा कम गरिबी राजविराज नगरपालिकामा १४.८१ प्रतिशत रहेको छ। कञ्चनरुप नगरपालिकामा गरिबी दर २६.१२ प्रतिशत रहेको छ भने त्यहाँ ५८ हजार ४६२ जनसंख्यामध्ये १५ हजार २६९ जना गरिब रहेको अनुमान छ।
स्थानीय तहमा ठूलो असमानता
प्रतिवेदन अनुसार मधेसका १३६ स्थानीय तहमध्ये ७७ तहमा गरिबी दर प्रदेश औसत २३ प्रतिशतभन्दा बढी छ। १०४ तहमा राष्ट्रिय औसत २० प्रतिशतभन्दा बढी गरिबी देखिएको छ।
सबैभन्दा बढी गरिबी भएको स्थानीय तह सबैला नगरपालिका (धनुषा) करिब ४१ प्रतिशत हो। सप्तरीको महादेवा गाउँपालिका र रौतहटको गुजरा नगरपालिकामा पनि करिब ३५ प्रतिशत गरिबी छ। जनकपुरधाम उपमहानगरपालिकामा भने गरिबी दर करिब ८ प्रतिशत मात्र रहेको छ।
त्यक्ष सर्वेक्षणका आधारमा मधेस प्रदेशको गरिबी अन्तर (Poverty Gap) ४.६२ प्रतिशत र गरिबीको गम्भीरता (Squared Poverty Gap) १.३६ प्रतिशत रहेको छ।
स्रोत: नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय, Small Area Estimation of Poverty, 2023, Annex C1 र C2।