कञ्चनरूप ।सप्तरी जिल्लामा गरिबीको रेखामुनि रहेका जनसंख्याको संख्याका आधारमा कञ्चनरूप नगरपालिका पहिलो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको छ। नगरपालिकाको कुल ५८ हजार ४६२ जनसंख्यामध्ये १५ हजार २६९ जना गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको हो।
कुल जनसंख्याको करिब २६.१२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखिन्छ। अर्थात् कञ्चनरूपका प्रत्येक १०० जनामध्ये करिब २६ जना गरिबीको अवस्थामा जीवनयापन गरिरहेका छन्।
गरिब जनसंख्याको संख्याका आधारमा जिल्लामा कञ्चनरूपपछि खडक नगरपालिका दोस्रो स्थानमा छ। खडकको कुल ५२ हजार ७७८ जनसंख्यामध्ये १५ हजार २३७ जना गरिबीको रेखामुनि छन्। त्यहाँ गरिबीको दर २८.८७ प्रतिशत रहेको छ।
त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकामा १३ हजार ४२६, बोदेबरसाइनमा १२ हजार १९९, शम्भुनाथमा ११ हजार ६९१ र डाक्नेश्वरीमा ११ हजार २६ जना गरिबीको रेखामुनि रहेका छन्। शम्भुनाथमा गरिबीको दर २९.५० प्रतिशत रहेको छ भने महादेवा गाउँपालिकामा जिल्लाकै उच्च ३५.३६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।
तथ्यांकअनुसार वार्षिक प्रतिव्यक्ति ७२ हजार ९०८ रुपैयाँभन्दा कम आय हुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ।
कञ्चनरूपमा गरिबीको अवस्था तथ्यांकमै स्पष्ट देखिए पनि त्यसको न्यूनीकरणका लागि नगरपालिकाले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसकेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार गरिबीको समस्या नगरबाहिर खोज्नुपर्ने अवस्था छैन। सार्वजनिक तथ्यांकले नै नगरभित्र ठूलो संख्यामा नागरिक आर्थिक अभावमा रहेको देखाउँछ। यस्तो अवस्थामा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी रोजगारी सिर्जना, सीपमूलक तालिम, आयआर्जनका कार्यक्रम, कृषि उत्पादनमा सहयोग तथा सामाजिक सुरक्षाका योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ।
स्थानीयले विगत ६ वर्षदेखि गरिबी न्यूनीकरणका लागि स्पष्ट नीति र प्रभावकारी कार्यक्रमको आवश्यकता औँल्याउँदै आए पनि नगर नेतृत्वबाट यस विषयमा अपेक्षित चासो नदेखिएको गुनासो गरेका छन्।
जिल्लामै सबैभन्दा बढी गरिब जनसंख्या रहेको कञ्चनरूप नगरपालिकाले आगामी नीति, कार्यक्रम तथा बजेटमा गरिबी न्यूनीकरणलाई कति प्राथमिकता दिन्छ भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। तथ्यांक सार्वजनिक हुनु मात्र पर्याप्त नभई गरिबीको अवस्थामा रहेका नागरिकको जीवनस्तर सुधार्ने गरी लक्षित कार्यक्रम कार्यान्वयन गर्नु नगरपालिकाका लागि मुख्य चुनौती देखिएको छ।