पातो, सप्तरी। दसैँको अवसरमा पातो बजारमा लागेको मेला हेर्न जाने क्रममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ स्थित पातो पेट्रोल पम्प नजिक राति करिब ८ बजे दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी बेचन साहका करिब ३२ वर्षीय छोरा जयप्रकाश साहको मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार, जयप्रकाश साहले चलाएको हिरो मोटरसाइकल (मधेस प्रदेश ०१–००४ प ९७७५) र सप्तरीको डाक्नेश्वरी नगरपालिका–१०, बनौलाका श्रवण रामका करिब २० वर्षीय छोरा अनिलकुमार रामले चलाएको अपाचे मोटरसाइकल (मधेस प्रदेश ०१–००५ प २७८८) एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा जयप्रकाशको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा जयप्रकाशको मोटरसाइकलमा पछाडि सवार जिबछ यादवकी करिब २५ वर्षीया श्रीमती जिब्छी देवी यादव र उनका छोरा अभिमन्यु यादव घाइते भएका छन्। उनीहरूको पातो बजारस्थित उमा कल्पना मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।