कञ्चनरूप। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया र नेतृत्वको वैधानिकतालाई लिएर विवाद चर्किरहेका बेला सप्तरी क्षेत्र नं. १ मा दुई पक्षबाट छुट्टाछुट्टै क्षेत्रीय सभापति चयन भएका छन्। शेरबहादुर देउवा पक्षबाट उमेश मिश्र र गगन थापा पक्षबाट लालमप्रसाद गुप्ता क्षेत्रीय सभापति बनेका हुन्।
देउवा पक्षले तिरहुत गाउँपालिका–१ बैरवामा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै मिश्रलाई क्षेत्रीय सभापतिमा निर्विरोध चयन गरेको थियो। सोही अधिवेशनबाट प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा रमेश खतिवडा र क्षेत्र ‘ख’ को सभापतिमा प्रमोद झा पनि निर्विरोध चयन भएका थिए।
गगन थापा पक्षले पनि सप्तरी क्षेत्र नं. १ मा आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाउँदै गुप्तालाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिएको छ। यससँगै एउटै निर्वाचन क्षेत्रमा कांग्रेसका दुई पक्षले आ–आफ्नो नेतृत्व संरचना अघि सारेका छन्।
पार्टीभित्र महाधिवेशनको कार्यतालिका र आधिकारिक नेतृत्वलाई लिएर मतभेद कायम रहँदा दुवै पक्षले छुट्टाछुट्टै गतिविधि सञ्चालन गरिरहेका छन्। यसको प्रभाव जिल्ला हुँदै क्षेत्रीय तहसम्म देखिन थालेको छ।
स्थानीय तह निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसभित्रै दुईवटा नेतृत्व संरचना देखिएपछि कार्यकर्ता र सर्वसाधारणले कुन पक्षलाई आधिकारिक मान्ने भन्ने प्रश्न उठेको छ। पार्टीको आधिकारिकता र महाधिवेशन प्रक्रियासम्बन्धी विवादको निकास ननिस्किएसम्म संगठनात्मक अन्योल कायम रहने देखिएको छ।