कञ्चनरूप। श्रीमानको मृत्युपछि पाँच छोरी र एक छोराको पालनपोषण तथा शिक्षाको जिम्मेवारी एक्लै सम्हालिरहेकी सप्तरीको कञ्चनरूप नगरपालिका–९, रघुनाथपुरकी खैरुल खातुनको परिवारलाई सहयोग गर्ने विषयमा जनप्रतिनिधि र समाजसेवीले चासो देखाएका छन्।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पा चौधरीले आइतबार खैरुलको घरमै पुगेर परिवारको अवस्था, बालबालिकाको पढाइ र दैनिक जीवनयापनमा देखिएका समस्याबारे जानकारी लिएकी हुन्। उनले खैरुलको परिवारप्रति संवेदनशीलता व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
त्यस्तै, सामाजिक अभियन्ता तथा समाजसेवी माधव चौधरीले पनि खैरुलको परिवारको अवस्थाप्रति चासो व्यक्त गरेका छन्। उनले आगामी दिनमा परिवारलाई विशेष रूपमा आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
विषालु सर्पको डसाइबाट ३८ वर्षीय श्रीमान् मोहम्मद बसिरको मृत्यु भएपछि खैरुलको परिवार आर्थिक संकटमा परेको हो। मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका बसिरको निधनसँगै आम्दानीको मुख्य स्रोत गुमेपछि परिवारलाई दैनिक खर्च जुटाउनसमेत कठिन भएको छ।
खैरुलका १६ वर्षीया आश्मा, १४ वर्षीया मरियम, १२ वर्षीया नाजो, आठ वर्षीया हलीमा, छ वर्षीया फत्मा र चार वर्षीय छोरा मोहम्मद नजिर छन्। नियमित आम्दानी नहुँदा बालबालिकाको पढाइलाई निरन्तरता दिन र परिवारका आधारभूत आवश्यकता पूरा गर्न समस्या भइरहेको छ। दैनिक छाक टार्नसमेत छरछिमेकको सहयोग लिनुपर्ने अवस्था रहेको छ।
खैरुलको परिवारको अवस्थाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जनप्रतिनिधि र समाजसेवीको ध्यानाकर्षण भएको हो। श्रीमान्को निधनपछि छ सन्तानको भविष्य सुरक्षित गर्ने जिम्मेवारी सम्हालिरहेकी खैरुलका लागि अहिले परिवारको गुजारा चलाउनु र बालबालिकाको पढाइलाई निरन्तरता दिनु प्रमुख चुनौती बनेको छ।
सांसद पुष्पा चौधरी र समाजसेवी माधव चौधरीले सहयोगका लागि चासो देखाउँदै प्रतिबद्धता जनाएपछि आर्थिक संकटमा परेको खैरुलको परिवारले सहयोगको अपेक्षा गरेको छ।