कञ्चनरूप। सप्तरीको सुरूङ्गा नगरपालिका–९ टिकुलियामा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।
सिरहा घर भएकी महिला दसैँ मनाउन बहिनीको घरमा आएका बेला घटना भएको हो। प्रहरीमा परेको जाहेरीअनुसार गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जन गरी फर्कने क्रममा ट्याक्टरको डिजेल सकिएपछि उनी पैदल घरतर्फ जाँदै थिइन्।
सोही क्रममा बाटोमा रहेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर नजिकैको आँपको बगैँचामा लगी जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि उनलाई बेहोस अवस्थामा छाडेर आरोपितहरू फरार भएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्।
अबेरसम्म घर नपुगेपछि खोजीमा निस्किएका आफन्त तथा स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए। घटनापछि पीडित परिवारले गाउँका केही अगुवाले विभिन्न प्रलोभन देखाएर घटना मिलाउन खोजेको आरोपसमेत लगाएको छ।
पीडितले बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका तीनै जनाको पहिचान खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिन खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताएका छन्।
प्रहरीले आरोपितहरूलाई पक्राउ गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ। घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको दोष भने कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।