खडक, सप्तरी । सप्तरीको खडक नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नगर प्रमुख ९मेयर० पदका सम्भावित उम्मेदवारहरूको चर्चा चुलिन थालेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलबाट विभिन्न नेताहरूको नाम चर्चामा आउन थालेपछि नगरपालिकाको राजनीतिक माहोलसमेत तात्न थालेको छ।
नेपाली कांग्रेसबाट मेयर पदका लागि कानन चौधरी, नमिता चौधरी, वीरेन्द्र चौधरी, जियाबुल हक र भगवतीप्रसाद चौधरीको नाम चर्चामा छ। चर्चामा रहेकामध्ये नमिता चौधरी पूर्वसांसद हुन् भने भगवतीप्रसाद चौधरी पूर्ववडाध्यक्ष हुन्। कांग्रेसभित्र आकाङ्क्षीको संख्या बढी देखिएकाले पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।
नेकपा एमालेबाट पृथ्वीचन्द चौधरी र बृजनारायण साह सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्। एमालेले कसलाई अघि सार्छ भन्ने विषयले नगरपालिकाको आगामी चुनावी समीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ननु चौधरी कलवार, हेमायु हक र दुर्गानन्द साहको नाम चर्चामा छ। ननु चौधरी यसअघि साइकल चुनाव चिह्न लिएर दुई पटक मेयर पदमा प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन्। त्यस्तै, हेमायु हक पूर्वनगर प्रमुख हुन्। पूर्वनगर प्रमुखको अनुभव र पटक–पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएका व्यक्तिहरूको उपस्थितिले रास्वपाको सम्भावित चुनावी रणनीतिबारे पनि चासो बढाएको छ।
जनता समाजवादी पार्टी (जसपा) बाट मो. इझहारुल र रीता चौधरीको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। वर्तमान वडाध्यक्षसमेत रहेका मो. इझहारुल यसअघि नेपाली कांग्रेसबाट चुनाव जितेका थिए भने पछिल्लो पटक जसपाबाट विजयी भएका थिए। दल परिवर्तन गर्दै चुनावी सफलता हासिल गरेको उनको राजनीतिक यात्रालाई पनि आगामी प्रतिस्पर्धामा चासोका साथ हेरिएको छ।
यसैगरी, नेकपाबाट वर्तमान नगर प्रमुख जयप्रकाश चौधरीको नाम पुनः मेयर पदका सम्भावित दाबेदारका रूपमा चर्चामा छ। वर्तमान नेतृत्वलाई निरन्तरता दिने वा नयाँ अनुहार अघि सार्ने भन्ने विषय नेकपाका लागि महत्त्वपूर्ण हुन सक्ने देखिन्छ।
दलका उम्मेदवारसँगै स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिन सक्ने व्यक्तिहरूको पनि चर्चा हुन थालेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा प्रमोद चालिसे र रमाकान्त चौधरीको नाम चर्चामा छ। दलगत समीकरणभन्दा बाहिर रहेर उनीहरूले कस्तो चुनावी रणनीति अपनाउँछन् भन्ने विषय पनि चासोको विषय बनेको छ।
उम्मेदवार छनोट र चुनावी समीकरणमा चासो
खडक नगरपालिकामा विभिन्न दलबाट सम्भावित उम्मेदवारको नाम चर्चामा आए पनि हालसम्म उनीहरू सबैको उम्मेदवारी औपचारिक रूपमा निश्चित भइसकेको छैन। दलहरूले कसलाई टिकट दिन्छन्, आकाङ्क्षीहरूबीच सहमति बन्छ वा आन्तरिक प्रतिस्पर्धा चर्किन्छ भन्ने कुराले आगामी निर्वाचनको स्वरूप निर्धारण गर्नेछ।
पूर्वसांसद, पूर्वनगर प्रमुख, वर्तमान नगर प्रमुख, वडाध्यक्ष तथा पटक–पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएका व्यक्तिहरूको नाम चर्चामा आउनुले खडक नगरपालिकाको मेयर पदको प्रतिस्पर्धा रोचक बन्न सक्ने संकेत गरेको छ।
यद्यपि, अन्तिम प्रतिस्पर्धाको तस्बिर उम्मेदवारको औपचारिक घोषणा, दलगत गठबन्धन, स्थानीय जनमत र चुनावी अभियानपछि मात्रै स्पष्ट हुनेछ। अहिले भने खडक नगरपालिकामा कसले मेयरको टिकट पाउँछ र कसले चुनावी बाजी मार्छ भन्ने चासो बढ्न थालेको छ।