कञ्चनरूप । कञ्चनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले विपद्को सम्भावित जोखिमबाट जोगिनकालागि न्यूनीकरणका उपायहरू अपनाउनु जरुरी रहेको बताएका छन ।
युनिसेफको सहयोग तथा कञ्चनरूप नगरपालिकाको समन्वयमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा कञ्चनरूप नगरपालिकामा बुधबार आयोजित नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले सो कुरा बताएका हुन ।
खोलै खोलाले घेरिएको नगरपालिका र जङ्गली जनावरको आतङ्कका बीच कम साधन स्रोतले नगरपालिका काम गरिरहेको बताउँदै नगर प्रमुख गुप्ताले सहकार्य र समन्वयबाट मात्रै कुनै पनि काम सफल हुन सक्ने बताए ।
“अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन”, नगर प्रमुख गुप्ताले भने । “उनीहरूलाई आय आर्जनमा कसरी लगाउन सकिन्छ त्यतातिर पनि सोच्नु जरुरी छ ।” सबै भौतिक संरचनाहरूलाई अपाङ्गता मैत्री बनाउनु जरुरी रहेको उनको कथन थियो ।
कञ्चनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित सो अभिमुखी करण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, प्रशासकीय अधिकृत नवराज खड्का सहितकाले नगरपालिकाले झेल्दै आएको विपद् सम्बन्धी समस्या तथा समाधानका लागि नगरपालिकाले गरेका पहलहरु का बारेमा जानकारी गराएका थिए ।
सो अभिमुखीकरण कार्यक्रममा अपाङ्गता सम्बन्धी राष्ट्रिय निर्देशक समितिका सदस्य सावित्रा घिमिरे, युनिसेफका अशोक कुमार झा, तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झा सहितकाले सहजीकरण गरेका थिए । सो कार्यक्रममा कञ्चनरूप नगरपालिकाको विपद् व्यवस्थापन समिति र अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू, सुरक्षा निकायका अधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
युनिसेफको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा कञ्चनरूप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिकामा नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गर्ने कार्यक्रम रहेको विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । ।